कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ घन्टापछि कोरोना संक्रमितको शव व्यवस्थापन

हरिराम उप्रेती

गोरखा — स्थानीयको अवरोध हटाएर १२ घन्टापछि कोरोना संक्रमितको शव ब्यवस्थापन गरिएको छ । शनिबार बिहान ५ बजे निधन भएका व्यक्तिको शव साँझ ६ बजे सहिद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ को सीमा क्षेत्रअन्तर्गतको लुदी दोभानमा व्यवस्थापन गरिएको हो ।

नेपाली सेनाको रणसिं दल गणका नेपाली सेनाको टोलीले विशेष स्वास्थ्य सुरक्षा र सतर्कता अपनाएर शवको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘परम्पराअनुसार शव गाड्यौं, सम्मान व्यक्त गर्‍यौं,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने,‘केही तनावका स्थिति पनि सिर्जना भयो, यसको मूल्याङ्कन अब भोलिको बैठकमा गर्छौं ।’

लुदी दोभानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका थिए । प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हटाएर शव व्यवस्थापन गरेको हो । कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्ने स्थानीयलाई तितरवितर गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । अवुवाबाट लुदी दोभान छिर्ने बाटोमा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो । संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि अवुवा क्षेत्र शनिबार दिनभर तनावग्रस्त बन्यो । पालुङटारका व्यक्तिको शव लुदी दोभानमा गाड्न लागिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । भीड तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

लुदी दोभानमा भेला भएका स्थानीयलाई तितरबितर गर्न केही राउन्ड अश्रुग्यास प्रहार गरेको गुरुङले बताए । गुरुङका अनुसार डाँडामा भेला भएका स्थानीयले पनि प्रहरीमाथि ढुंगामुढा गरेका थिए । ‘सात/आठ राउन्ड अश्रुग्यास प्रहार गरेर भीड तितरबितर बनायौं,’ उनले भने ।

जिल्ला सुरक्षा समिति बैठकले लुदी दोभानमा शव व्यवस्थापन गर्ने शनिबार नै निर्णय गरेको थियो । पालुङटार नगरपालिका–७ का ४४ वर्षीय ती पुरुष कतारबाट फर्किएर १७ गतेमात्र पालुङटार आइपुगेका थिए । १८ गते नमुना संकलन गरी कोरोना परीक्षणका लागि पठाउँदा शुक्रबार संक्रमण पुष्टि भएको थियो । शुक्रबार राति नै गोरखा अस्पतालको आइसोलेसनमा भर्ना भएका ती पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

प्रकाशित : असार २०, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्सको प्रधानमन्त्री पद त्यागेर नगरप्रमुख

कान्तिपुर संवाददाता

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर नगरप्रमुखको पद रोजेका छन् । स्थानीय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उमेदवारी दिएका उनी प्रधानमन्त्रीको कार्यब्यस्तताका कारण निर्वाचनका बेला एकपटक पनि आफ्नो नगरपालिकामा प्रचारप्रसार गर्न फर्किएका थिएनन् ।

आफ्ना ईमान्दार कार्यकर्ता र उनको ईमान्दारिताका कारण निर्वाचनमा उपस्थित नै नहुँदा पनि उनलाई जिताएपछि उनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर नगरप्रमुखमै बस्ने निर्णय गरेका हुन् । फिलिप नगरप्रमुखमा विजयी भएको फ्रान्स२४ डटकमले जनाएको छ ।

कम बोल्ने, देश र समाजका लागि चौबिसै घण्टा काममा खटिने र निस्कलंकित उनको छविका कारण राष्ट्रपति एमानुयल माक्रोंले उनलाई १५ मे २०१७ मा प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । विवादमा पर्नै नचाहने, कम बोल्ने, धेरै खट्ने र कानुनका ज्ञातासमेत भएकाले उनी राष्ट्रपतिका निकट सहयोगीसमेत थिए ।

आफूले नगरबासीसित चुनावको प्रचार त के हात मिलाउनसमेत नपाउँदा पनि जिताएकोमा भावुक बनेका उनले शुक्रबार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए । शनीबार उनको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री पदबाट राजीनामा गरि नगरप्रमुख बनेर फिलिपले धेरैलाई आश्चर्यमा पारिदिएका छन् ।

अलजजिरा र बीबीसीका अनुसार उनी फ्रान्समा राष्ट्रपति माक्रोंभन्दा लोकप्रिय मानिन्छन् । उनी २०१७ मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई २०२२ मा हुने निर्वाचनमा राष्ट्रपति माक्रोंका प्रतिस्पर्धीका रुपमा पनि हेरिएको छ । फिलिपको राजीनमापछि राष्ट्रपतिले जाँ कासेकलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

प्रकाशित : असार २०, २०७७ १९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×