१२० किसानको खेत एउटै बनाएर सामूहिक रोपाइँ

पुतलीबजार नगरपालिका–४ गोठिङ फाँटको ३१० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ ।
लालप्रसाद शर्मा

काठमाडौँ — दुई दशकदेखि धान रोप्दै आएकी रविना पोखरेलका लागि यसअघिका बर्खा सामान्य भए । असार १५ आउँथ्यो, जान्थ्यो । खासै मतलब हुँदैनथ्यो । तर, सोमबार दिन उनी केही खुसी देखिइन् ।

पहिला दुई/चार जना खेतालाले धान रोप्नुपर्थ्यो । खेतका गह्रा पनि साना थिए । यसपालि भने ३०/४० जना एकैसाथ एउटै गह्रामा रोपाइँ गर्न पाउँदा उनी मज्जा मानिरहेकी थिइन् । गाउँभरिकाको खेत चक्लाबन्दी गरी सामूहिक रूपमा धान रोप्दा उत्पादन पनि बढ्ने उनको विश्वास थियो ।

राधा पोखरेलको उत्साह पनि कम्ताको थिएन । गाउँले सबै एकजुट भएर खेती गर्दा सामूहिकताका भावना बढेकोमा उनी दंग थिइन् । पहिला खेतमा गोरुले जोत्दा लागत बढी पर्थ्यो । धान, पराल ढुवानीमा पनि समस्या थियो । उब्जनी पनि कम हुने । यति बेला सबै फाँट नै चक्लाबन्दी गरी धान रोप्न थालिएको थियो ।

स–साना गह्रा भएकाले खेतीमा समस्या भएपछि पुतलीबजार नगरपालिका–४ गोठिङ फाँट यति बेला चक्लाबन्दी गरिएको छ । स्थानीय १ सय २० जनाको ३ सय १० रोपनी जग्गालाई एकीकृत गरी चक्लाबन्दी गरिएको हो । गण्डकी प्रदेश सरकारको चक्लाबन्दी नीतिअनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो फाँट पनि छनोट गरेको थियो । चैतभित्रै सक्ने गरी माघ दोस्रो सातादेखि काम सुरु भए पनि लकडाउनका कारण रोकिएको थियो । जेठ दोस्रो साता फेरि थालेर अहिले धान रोप्न योग्य बनाइएको वडाध्यक्ष ओमबहादुर खड्काले बताए । ‘उत्पादन जग्गाको क्षेत्रफलका आधारमा बाँडफाँड हुनेछ,’ उनले भने, ‘चक्लाबन्दीका कारण अहिलेको भन्दा दोब्बर उत्पादन बढ्ने विश्वासमा छौं ।’

गोठिङ कृषक समूह गठन गरी चक्लाबन्दीको काम थालिएको हो । समूहका अध्यक्ष दयासिन्धु पोखरेलका अनुसार हालसम्म एक रोपनी जग्गामा तीन मुरी धान फल्ने गरेकोमा अब दोब्बर उत्पादन गर्ने लक्ष्य लिइएको छ । हिउँदे खेती पनि गर्ने योजना उनले सुनाए । ‘स्थानीयबीच मन मिलेर नै यो सम्भव भयो । अहिले सबै जना उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘नमुना बनाउने योजना छ ।’

फाँटभरी ठूलाठूला गह्रा बनाइएको छ । बाटो र सिँचाइ छ । खनजोतमा ट्याक्टरको प्रयोग गरिएको छ । सबैभन्दा बढी १३ रोपनी जग्गा ठमनारायण शर्माको परेको छ । कृषिमा लागत कम हुने, उत्पादन बढ्ने भन्दै उनले अब धेरै कान्लाकुन्ली भएर जग्गा बाँझो रहने समस्याको अन्त्य भएको बताए । पहिलापहिला खेतमा पानी लगाउने बेला झगडासमेत हुन्थ्यो । अब त्यो समस्या पनि अन्त्य भएको भन्दै उनी खुसी देखिए । ‘चक्लाबन्दी सामूहिक खेती मात्रै होइन,’ उनले भने, ‘एकताको सन्देश पनि हो ।’ उक्त अवसरमा स्थानीयले बाजागाजा बजाएर खुसियाली पनि मनाएका थिए ।


चक्लाबन्दीको लगानी र व्यवस्थापन कृषक समूहले गर्छ । अहिलेसम्म ५९ लाख ११ हजार रुपैयाँ खर्च भएको छ । प्रदेशको भूमि व्यवस्था मन्त्रालयले ३० लाख रुपैयाँ दिने भने पनि अहिलेसम्म दिएको छैन । ३० लाख उपभोक्ता र २० लाख स्थानीय सहकारीबाट ऋण लिइएको छ । सहकारीमा अध्यक्ष दयासिन्धुले आफ्नो जग्गाको लालपुर्जा धितो राखेका छन् । स्थानीयकै एक्स्काभेटर भएकाले ९ लाख तिर्न बाँकी छ ।

चक्लाबन्दीमा धान दिवसको अवसर पारेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोपाइँको शुभारम्भ गर्दै प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार चक्लाबन्दी अभियान थालिएको बताए । साथै कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी उत्पादन दोब्बर बढाउने, प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उनको भनाइ छ ।

प्रकाशित : असार १६, २०७७ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्

को हुन् ‘ई’ ? किन बसे सत्याग्रहमा ? [भिडियोे]

दिपेन्द्र रोक्का

काठमाडौँ — सामाजिक अभियन्ता इशान अधिकारी ‘ई’ यतिबेला पाटन कृष्णमन्दिर छेउको एउटा पाटीमा सत्याग्रहमा छन् । पछिल्ला दिनमा उनको नाम सामाजिक सञ्जालमा चुलिँदो छ ।

सन् २०१७ देखि २०१८ सम्म नेपालको पूर्वदेखि पश्चिमसम्म पैदल यात्रा गरेका थिए । यतिबेला उनी सरकारविरुद्ध किन सडकमा उत्रिए ? सामाजिक सञ्जालदेखि सडकको शान्तिपूर्ण प्रदर्शनमा कसरी आयो युवा जमात ? जान्नको लागि भिडियो हेर्नुहोस् ।

प्रकाशित : असार १६, २०७७ १२:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×