जंगली च्याउ खाँदा एकै परिवारका ५ बिरामी

कान्तिपुर संवाददाता

गोरखा — जंगली च्याउ खाँदा आरुघाट गाउँपालिका–४ थुमिस्थित जामुनेका एकै परिवारका ५ जना बिरामी परेका छन् । घरधनी गाइने विक, उनको श्रीमती, छोरा र दुई छोरी बिरामी भएको आरुघाट गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर धमलाले बताए ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत हाम्रो वडामा पनि भइरहेको छ, त्यहाँ काम गर्न आएको बेला घरमुली गाइनेले च्याउको तरकारी खाएको र असजिलो महसुस भएको सँगैको साथीलाई भनेका रहेछन्, उहाँ केहीबेरमा ढल्नु पनि भएछ,’उनले भने,‘पछि घरमा गएर हेर्दा सबै जना बिरामी परेको पायौं ।’ वाकवाक गर्ने, रिङ्गाटा लाग्ने समस्या उनीहरुमा देखिएको उनले बताए ।

गाउँलेको सहयोगमा पाँचै जनालाई आर्खेत ल्याएर मेडिकलमा सामान्य उपचार गरेर आरुघाट हेल्थ पोष्ट पठाइएको धमलाले बताए ।

प्रकाशित : असार १५, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्

निगमको सञ्‍चालक समितिमा पौडेल र शेर्पा

सुरज कुँवर

काठमाडौँ — वर्ष दिनदेखि रिक्त नेपाल वायुसेवा निगमको सञ्‍चालक समिति सदस्यमा पर्यटनमन्त्री योगेश भट्टराईले व्यवस्थापन विज्ञ प्रकाश पौडेल र पर्यटन व्यवसायी फुर्बा ग्याल्जेन शेर्पालाई नियुक्त गरेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पौडेल र शेर्पालाई ४ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले कान्तिपुरलाई बताए । पौडेल पोखराको बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सीज प्रालिका प्रमुख कार्यकारी अधिृकत हुन् । नक्सालमा रहेको यो कम्पनीले नेपालभर भारतीय कम्पनी आइसरका चार पाङ्ग्रे सवारी साधान बिक्रीको जिम्मा लिएको छ ।

बेलायतबाट चार्टड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेलसँग चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेको अनुभव छ ।

गत साउनमा पर्यटनमन्त्री भट्टराईले गठन गरेको ‘नेपाल वायुसेवा निगम सुझाव कार्यदल’मा पौडेल ५ जनामध्येका एक थिए । पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा गठन गरिएको कार्यदलले असोजमा पर्यटनमन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएको थियो ।

प्रधानमन्त्री केपी ओलीले महाप्रबन्धक छँदै झापाका मदन खरेललाई ०७५ भदौमा ४ वर्षका लागि कार्यकारी अध्यक्ष पद दिएका थिए । तर, खरेलले ०७६ माघमा राजीनामा दिएपछि मन्त्री भट्टराईले यसै कार्यदलको नेतृत्व गरेका पूर्वसचिव घिमिरेलाई बैशाख २ गते कार्यकारी अध्यक्षमा नियुक्त गरिसकेका छन् ।

त्यस्तै पर्यटन क्षेत्रमा तीन दशकदेखि कार्यरत शेर्पा हेलिकप्टर कम्पनी अल्टिच्युट एयरका अध्यक्ष हुन् । पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्य शेर्पाको लगानीमा सगरमाथा पदयात्रा क्षेत्रमा पर्ने क्वाङदेमा रिसोर्ट, फाक्दीङमा होटल र काठमाडौंमा ट्रेकिङ कम्पनी छ ।

निगमको सञ्‍चालक समितिमा ६ जना रहने व्यवस्था छ । जस्मा सरकारका तर्फबाट अर्थ र पर्यटन मन्त्रालयका दुई जना सहसचिव रहन्छन् । बाँकी तीन जनालाई पर्यटन मन्त्रालयले नियुक्त गर्छ । बाहिरबाट जाने तीन सदस्यमा एक जना वायुसेवासँग सम्बन्धी विज्ञता भएको र दुई जना निजी क्षेत्रको प्रतिनिधित्व गर्छन् ।

गत साउनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने व्यवसायी निमा नुरु शेर्पा र मुक्तिराम पाण्डेको कार्यकाल सकिएपछि निगममा दुइटा सञ्‍चालक समिति सदस्य पद खाली थियो ।

प्रकाशित : असार १५, २०७७ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×