१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टोल–टोलमा शिक्षक

सिकाइ निरन्तरताको प्रयास
घनश्याम खड्का

म्याग्दी — लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीले सिकाइ बिर्सने जोखिम भएपछि यहाँको एक गाउँपालिकाले विद्यालयको सेवा क्षेत्रलाई टोलमा बाँडेर बालबालिकाको सिकाइ निरन्तरता दिन थालेका छन् ।

रघुगंगा गाउँपालिकाले मातहतका सबै १० माध्यामिक, २४ आधारभूत विद्यालय र २ वटा बालविकास केन्द्रको सेवा क्षेत्रलाई टोल–टोलमा बाँडेर टोलमा रहेका विद्यार्थीलाई व्यक्तिका घरमा जम्मा गरी सिकाइलाई निरन्तरता दिइएको छ । सिकाइ निरन्तरताका लागि हरेक विद्यार्थीको हात–हातमा नयाँ पाठ्यपुस्तक पुर्‍याइएको छ ।

‘यो औपचारिक कक्षा होइन । हरेक दिन एउटा विषयको शिक्षक एउटा टोलमा पुग्छन् । टोलमा रहेका सबै कक्षाका विद्यार्थी बढीमा २० जनासम्म जम्मा हुन्छन् । शिक्षकले बालबालिकालई पढ्न लगाउने, गृहकार्य दिने र पढ्ने बानी बिर्सन नदिन यसो गरिएको हो’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘९० प्रतिशत बढी शिक्षक स्थानीय भएकोले परिचालन गर्न सजिलो भएको छ । हाम्रो बस्ती पातलो छ, विद्यालयमा विद्यार्थी संख्या पनि थोरै छन् । त्यसैले बस्तीमा अलि ठूलो आँगन भएको घरमा जम्मा गरी सिकाइलाई निरन्तरता दिने प्रयास थालेका हौं ।’

ग्रामिण तहका सामुदायीक विद्यालयको सेवा क्षेत्र सानो हुन्छ । एउटा बस्तीका विद्यार्थीहरु मात्र सो विद्यालयको सेवा क्षेत्र हुने भएकोले बस्तीलाई पनि टोल–टोलमा बाँडेर शिक्षक नै उपस्थित भइ बालबालिकाको सिकाइ निरन्तरता दिन सजिलो भएको हो ।

कोरना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि चैत ११ देखि सुरु गरिएको लकडाउन खुकुलो पारिएपनि विद्यालय खुल्ने समय अझै अनिश्चित छ । सहरमा विद्युतीय कक्षाको चर्चा भएपनि ग्रामिण भेगमा विद्युतीय शिक्षण असम्भव नै छ ।

‘विद्यार्थीले पढ्ने बानी बिर्सेलान् भन्ने डर हामीलाई छ । त्यसैले पछिल्लो १५–२० दिनदेखि टोल–टोल पुगेर सिकाइ निरन्तरता दिएका छौं । गाउँपालिकालाई पनि हामी शिक्षकले नै यो उपाय सुझाएका हौं’ रघुगंगा माध्यामिक विद्यालय पिप्लेका प्रध्यानअध्यापक रमेश सिं ठकुरीले भने, ‘तर केही टोलका सिकाइ केन्द्रमा समस्या देखिएको छ । खासगरी भारतबाट फर्केकाहरु क्वारेन्टाइन बसी घर आएका परिवारका बालबालिकासँग अरु बालबालिका घुलमिल हुन आनाकानी गर्न थालेका छन् ।’

प्रकाशित : असार १४, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?