तनहुँका एक वर्षीय बालक कोरोनामुक्त 

सम्झना रसाइली

तनहुँ — तनहुँको रिसिङ गाउँपालिकाका एक वर्षीय बालक कोरोनामुक्त भएका छन् । अभिभावकसँगै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका बालकमा गत असार ८ गते कोरोना संक्रमण देखिएको थियो ।

बालकसँगै रहेकी आमाको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि बाललको रिपोर्ट पोजिटिभ आएको थियो । शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा बस्दै आएका बालकको शनिबार दोस्रो पीसीआर रिपोर्टमा नेगेटिभ आएको केन्द्रका कोभिड–१९ फोकल प्रर्सन प्रदिप पौडेलले बताए ।

उनले भने, ‘असार ११ गते एक वर्षीय बालकसँगै थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएका अन्य ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।’ कोरोनामुक्त हुनेमा शुक्लागण्डकी नगरपालिकाका २२ वर्षीय, घिरिङ गाउँपालिकाका २६ वर्षीय र रिसिङ गाउँपालिकाका २८ र २० वर्षीय पुरुष तथा २५ वर्षीया महिला रहेको केन्द्रले जनाएको छ ।

योसँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्य १७ जना पुगेको छ भने कोरोना संक्रमितको संख्या १०२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाबाट १ हजार ६१७ जनाको थ्रोट स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा ४५५ जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : असार १४, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्

जबज, मदन भण्डारी र भावी पुस्ता

जननेता भण्डारी सही समयमा सही ढंगले विश्वपरिस्थितिको आकलन, मापन र निर्णय गर्न सक्नुहुन्थ्यो।
सुनिता बराल

तत्कालीन नेकपा माले र मार्क्सवादीबीच २०४७ पुस २२ मा विधिवत् एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी-एमाले) को ‘केन्द्रीय संगठन समिति’ को महासचिव मदन भण्डारी हुनुभयो ।

एकतापछि उहाँलाई राजनीतिक कार्यक्रम र त्यसको सांगठनिक हस्तक्षेपका लागि बलियो पदीय आधार निर्माण भएको थियो । यसले जनताको बहुदलीय जनवाद (जबज) जस्तो मौलिक सिद्धान्त जन्मने वातावरण बनायो । करिब ३० वर्षअघिको सो एकता, जनताको बहुदलीय जनवादको सिद्धान्त र केहीअघिको नेकपा एमाले–माओवादी एकता पनि जननेता भण्डारीको सो पहलको पदचापबाट शिक्षित र दीक्षित थियो भन्न सक्ने आधार प्रशस्तै छन् ।

युद्ध, द्वन्द्व, कटुतापूर्ण प्रतिस्पर्धा, तालमेल, गठबन्धन हुँदै पार्टी एकताको संघारसम्म आइपुग्दा एमाले–माओवादी सम्बन्धका अनेक आयाम छन् । अब यी दुई पार्टीको सम्बन्ध र त्यसको असर केवल दुई पार्टीमा सीमित रहेन । चुनावमा अभिव्यक्त जनमत र राज्य हाँक्नका लागि प्राप्त जनादेशसृजित गहनता र उत्तरदायित्वले यी दुई दललाई अघि बढ्ने अनुमति छ, तर पछि हट्ने छुट छैन । लोकतन्त्र, अग्रगमन, स्वाभिमान र समृद्धिको खुला सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवादले पछिल्लो चुनावमा अभिव्यक्त जनमतको प्रतिनिधित्व गर्छ ।

खँदिलो एकता र राजनीतिक विचारबिना कुनै पनि दल जनताको दिलमा बस्न सक्दैन । आफू र आफ्नो दललाई जनताको सेवक र देशको सच्चा निर्माताका रूपमा व्यवहारत: उभ्याउन सक्ने र जनताको हित, जीविका, स्वाभिमान, समृद्धि, दिगो विकास र एकतालाई सर्वस्व ठान्ने सचेत, संगठित कार्यकर्ता पंक्ति भएको दल मात्रै २१ औं शताब्दीको आधुनिक राज्यको नेतृत्वको हकदार हुन्छ । त्यसका लागि जननेता भण्डारीको एकता र नेतृत्व क्षमताको निरन्तरता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो र पुष्पकमल दाहालको साथले विशाल कम्युनिस्ट पार्टी निर्माण भयो, हाम्रै पालामा ।

नेपालमा लोकतन्त्रीकृत हुँदै गरेको वामपन्थ सोभियत रुसको विघटनपश्चात् संसारबाट कम्युनिस्ट बहिर्गमन भयो भन्ने एक थरी विचारकका लागि चासोको विषय बन्न पुगेको छ । यसको तत्कालीन दृष्टान्तका रूपमा अमेरिकी पत्रिका ‘न्युजविक’ ले २७ मे १९९१ मा ‘नेपाल, जहाँ कार्ल मार्क्स जीवित छ’ शीर्षकमा छापेको जननेता भण्डारीको अन्तर्वार्तालाई लिन सकिन्छ । वास्तवमै उहाँ सही समयमा सही ढंगले विश्वपरिस्थितिको आकलन, मापन र निर्णय गर्न सक्नुहुन्थ्यो । उनै ‘कार्ल मार्क्स’ को देश चुनावबाट करिब दुईतिहाइको बहुमत ल्याएर कम्युनिस्टहरू सबै प्रणालीमा अब्बल छन् भन्ने देखाउन सफल भएको छ ।

जबज हाम्रो आर्थिक र सामाजिक उत्थानको ‘डिपार्चर’ थियो । यही आजसम्मका नेपाली क्रान्तिको मौलिक र माटो सुहाउँदो कार्यक्रम हो । यसले बहुदलीय पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रमभन्दा भिन्न विशेषता ग्रहण गरेको छ । संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, स्वाधीनता, मानवाधिकारको रक्षा, आवधिक निर्वाचन, स्वाभिमानमा आधारित विदेशनीति आदि यसका विशेषता हुन् । यी शासकीय सिद्धान्तका

विशेषतालाई कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरण कार्यक्रम भनेर चिनिन्छ । पार्टीको आन्तरिक जीवनको संवेदनशील घडीमा संयम, प्रतिपक्षमाथि सहिष्णु, विरोधका स्वर सुन्न सक्ने धैर्य, जनताप्रति उत्तरदायी, जनताबाट नियन्त्रित र आवधिक रूपमा परीक्षित रहेसम्म वामपन्थीहरू मुलुकको मियो बनिरहने जननेता भण्डारीको भविष्यवाणीलाई गत निर्वाचनमा जनताले अनुमोदन गरिसकेको परिप्रेक्ष्यमा जबज र यसको समयानुकूल विस्तार अझ टड्कारो बनेको छ ।

जबजमा भनिएको छ— १९ औं शताब्दीको सुरुदेखि नै नेपाल राष्ट्रिय स्वाधीनताका निम्ति संघर्षमा उत्रन बाध्य भएको छ । ब्रिटिस इन्डिया, स्वतन्त्र भारत तथा ब्रिटेनसँग असमान एवम् अपमानपूर्ण, राष्ट्रिय हित र स्वाधीनतामाथि आघात पार्ने अनेक सन्धि–सम्झौताहरू भएका छन् र कायम पनि छन् । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग पनि हाम्रो राष्ट्रिय हितप्रतिकूल हुने गरी सम्झौताहरू भएका छन् । यसकारण नवउपनिवेशी शोषणबाट मुक्त हुने स्वाधीनताको संघर्ष जारी छ । प्रतिक्रियावादी वर्ग र तिनीहरूका प्रतिनिधि राजनीतिक शक्तिहरूका हातमा सत्ता रहुन्जेल असमान सन्धिहरू खारेज गरी पञ्चशीलको आधारमा सन्धि सम्झौताहरूको नवीकरण गर्ने तथा प्रगतिशील वैदेशिक सम्बन्ध विकास गर्ने कुनै सम्भावना छैन ।

जबजले उतिबेलै भनेको थियो— क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासलाई पार्टीको लक्ष्य बनाउनुपर्छ । अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ, यसैलाई प्राथमिकता दिनु जरुरी छ । सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास सम्भव छैन ।

औद्योगीकरणबिना देशको प्रगति सम्भव हुँदैन र राष्ट्रिय पुँजीको विकास नगरी आत्मनिर्भर औद्योगिक राष्ट्रिय अर्थतन्त्रको विकास सम्भव छैन । अहिले नेपाली समाजको वस्तुगत विकासको अवस्था अर्धसामन्ती तथा अर्धउपनिवेशी स्थितिलाई अन्त्य गर्नुपर्ने तहमा छ । राष्ट्रिय पुँजी उद्योग र व्यापारको ढोका खुला गर्नुपर्ने स्तरमा छ । समाजको भौतिक विकासबिना हामी समाजवादको निर्माण गर्न सक्दैनौं । अहिले आएर अनुदानमा प्राप्त हुने सहयोगमा समेत विषाक्त खेल खेलिनु झन्डै २७ वर्षअघिको पार्टीको दूरगामी कार्यक्रमको भावनाको खिलाफ छ ।

अबको कार्यदिशा

सर्वप्रथम जबज, माओवाद, प्रचण्डपथ र २१ शताब्दीको जनवाद नेपालका सन्दर्भमा लेनिनले भनेझैं र माओले समृद्ध पारेको नौलो जनवादका भिन्नाभिन्नै नेपाली संस्करण हुन् । गन्तव्य समृद्ध नेपाल र सबैको केन्द्रमा सुखी नेपाली नै हुन् । २१ औं शताब्दीको विश्वसँग हामी भिड्नैपर्नेछ । प्रविधि र विश्वव्यापीकरणको नेटवर्कमा हामी पनि छौं । यस अवस्थामा कम्युनिस्टहरू बिलाउने डरबीच हामी अभूतपूर्व सफलता पाएर विश्व कम्युनिस्ट आन्दोलनमा गर्व गर्ने स्थानमा छौं ।

कम्युनिस्ट कसरी असफल भए भन्ने दृष्टान्त जननेता भण्डारीको कार्यपत्रमै हेरौं  । ५–७ मे १९९३ मा कलकत्तामा आयोजित सम्मेलनमा जननेता भण्डारीले ‘समकालीन विश्वपरिस्थिति र मार्क्सवादको सार्थकता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो, जसमा उल्लेख छ, ‘मार्क्सवाद विश्वमा असफल भएको होइन, बरु सोभियत नमुना मात्र असफल भएको हो ।’ मार्क्सवादप्रतिको प्रतिबद्धतासँगसँगै उहाँले मार्क्सवादको प्रयोग नेकपा एमालेले नयाँ ढंगले गरिरहेको उल्लेख गर्दै यसका लागि वाम आन्दोलनको ४० वर्ष खर्चिएर जबजका कार्यक्रम तय गरिएको बताउनुभएको थियो ।

सन् १९१७ पछि धेरै देशका जनताले नयाँ सिद्धान्तका आधारमा क्रान्ति गरेका छन् । प्रत्येक देशको क्रान्तिमा भिन्नता छन् । तर अनेक भिन्नताका बावजुद सबै क्रान्तिमा आधारभूत रूपमा यही सिद्धान्त लागू भएको छ । कतिपय देशमा क्रान्तिको कार्यक्रमलाई नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद तथा लोक जनवादजस्ता नाम दिइएको छ । क्रान्तिको कार्यक्रमको नामकरण आफ्नो आवश्यकता र स्थितिअनुरूप जेसुकै गरिए पनि क्रान्तिको सिद्धान्त भने एउटै छ । छरिएका वामपन्थी दलहरूलाई एकीकृत पार्नेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवर्तित राजनीतिक वस्तुस्थितिमा मार्क्सवादलाई बहुदलीय प्रजातन्त्रप्रति कटिबद्ध रही नयाँ स्वरूप प्रदान गर्नसम्ममा जननेता भण्डारीले पुर्‍याएको योगदान नेपाली राजनीतिमा अविस्मरणीय रहनेछ ।

‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ’ भन्ने मान्यता राख्ने जननेता भण्डारीले सिद्धान्तलाई कोरा रूपमा नभई जीवनका सांगोपांगो पक्षसँग जोडेर व्याख्या गर्ने हिम्मत गर्नुभएको थियो, जसको सिको भावी पुस्ताले गर्न जरुरी छ ।

प्रकाशित : असार १४, २०७७ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×