म्याग्दीको दाना सबस्टेसनमा स्थानीयको ताला- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याग्दीको दाना सबस्टेसनमा स्थानीयको ताला

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन कालीगण्डकी करिडोर प्रसारण लाइनको सबस्टेसनमा स्थानीयले तालाबन्दी गरेका छन् ।

आयोजनाले लिखित सम्झौता गरेको सामाजिक उत्तरदायित्वअन्तर्गतका काम नगरेको भन्दै वडाध्यक्ष नरसिं पुर्जाको नेतृत्वमा बुधबार मूलगेटमा तालाबन्दी गरिएको स्थानीय इन्द्रसिं शेरचनले बताए ।

आयोजनाले बेनी–जोमसोम मूल सडकदेखि ज्ञानप्रकाश माविसम्म पुग्ने सडक कालोपत्र नगरेको, रुप्से युवा क्लबको खेलमैदान घेराबार नगरेको, आमा समूहको भवनअगाडि आँगन नबनाएको, खानेपानी प्रयोगबापतको शुल्क नतिरेको, सबस्टेसनछेउबाट द्वारीखोलासम्मको प्रचलित पदमार्ग बिगारेको तर मर्मत नगरेको स्थानीयको भनाइ छ । स्थानीय लाइनमार्फत प्रभावित क्षेत्रलाई चौबीसै घण्टा विद्युत् दिने सुनिश्चित नभएको समेत उनीहरूले आरोप लगाएका छन् ।

‘सबस्टेसन निर्माण अन्तिम चरणमा पुग्दासम्म आयोजनाले गर्छु–गर्छु भन्दै स्थानीयलाई झुक्यायो, गुमराह पार्‍यो, अहिले आयोजनाका मान्छे नै सम्पर्कमा आउन छोडेपछि बाध्य भई तालाबन्दी गरेका हौं,’ वडाध्यक्ष पुर्जाले भने, ‘आयोजनाले निर्माणपूर्व प्रभावित क्षेत्रमा गर्छु भनेका सामाजिक काम इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ ।’

प्रकाशित : असार १०, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

भैरहवा र बुटवलमा थपिए पीसीआर मेसिन

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा २ वटा पीसीआर मेसिन थपिएका छन् । प्रदेश प्रयोगशाला भैरहवा र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एक–एकवटा मेसिन थपिएका हुन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई पीसीआर मेसिन हस्तान्तरण गरिँदै । तस्बिर : अमृता अनमोल

हाल प्रदेशमा दैनिक ३ सय नमुना परीक्षण हुँदै आएकामा मेसिन थपिएसँगै ५ सय नमुना परीक्षण हुने बताइएको छ । दुवै मेसिनले आइतबारदेखि पूर्ण परीक्षण सुरु गर्ने प्रदेशको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए । प्रदेश प्रयोगशालाका लागि यूएनडिपीले मेसिन सहयोग गरेको हो । त्यस्तै लुम्बिनी अस्पतालमा प्रदेश सरकारले दिएको ६० लाख रुपैयाँबाट किनिएको हो । ‘अर्को सातासम्म दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नयाँ पीसीआर मेसिन जडान हुनेछ,’ उनले भने, ‘त्यसका लागि ६० लाख रुपैयाँ पठाएका छौं ।’

प्रदेशमा हाल ३ वटा प्रयोगशाला छन् । रूपन्देही, दाङ र बाँकेमा रहेका ती प्रयोगशालाले दैनिक एक/एक सयवटाका दरले स्वाब नमुना परीक्षण गर्न सक्छन् । स्वाब नमुनाको थुप्रो लागेकाले अहिले यी प्रयोगशालाले १० देखि १५ दिनमा मात्रै नतिजा दिन सकेका छन् । ‘पीसीआर परीक्षणको नतिजा लामो समयसम्म दिन नसक्दा संक्रमण आशंकाका व्यक्तिलाई मनोवैज्ञानिक असर देखिँदो रैछ । क्वारेन्टाइनमा राख्ने दिन लम्बिँदा आर्थिक भारसमेत पर्दो रहेछ,’ सामाजिक विकासमन्त्री सुदर्शन बरालले भने, ‘यस्तो समस्या हटाउन पीसीआर मेसिन र परीक्षणको दायरा बढाएका हौं ।’

अहिले यहाँका प्रयोगशालामा ८ हजार ६ सय ५४ वटा स्वाब नमुना थुप्रिएका छन् । जसमा राप्ती विज्ञान प्रतिष्ठान दाङमा ३ हजार ७ सय १८ नमुना छन् । धेरै स्वाब थुप्रिएपछि दाङमा अघिल्लो सातादेखि नयाँ स्वाब संकलन गर्न छोडिएको छ । प्रदेश प्रयोगशाला रूपन्देहीमा १ हजार ४ सय २१ र भेरी अस्पताल बाँकेमा १ हजार ५४ स्वाब नमुना छन् । प्रदेशले नधानेपछि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाउने दर बढाइएको छ । जहाँ अहिले प्रदेश ५ का १ हजार ४ सय २० र धुलिखेलको प्रयोगशालामा १ हजार ४१ स्वाब नमुना छन् ।

प्रकाशित : असार १०, २०७७ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×