कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संक्रमित स्वास्थ्यकर्मीहरुलाई व्यवस्थित बसोबासको मागसहित पर्वत प्रशासन घेराउ

अगन्धर तिवारी

पर्वत — कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई सुरक्षित बस्ने ठाउँ नभएको भन्दै पर्वत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले पर्वत प्रशासन घेराउ गरेका छन् ।

संक्रमित स्वास्थ्यकर्मीहरुलाई व्यवस्थित बसोबासको मागसहित पर्वत प्रशासन घेराउ

शनिबार साँझ ६ बजेतिर कोरोना रोकथाम जिल्लास्तरीय कमान्ड फोर्सको बैठक बसिरहेका बेला करिब दुई दर्जन स्वास्थ्यकर्मीहरुले प्रशासन घेराउ गरेका हुन् । उनीहरु कोरोना संक्रमण पुष्टि भएको दुई दिनसम्म पनि प्रशासनले बसोबासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्ट बनेका छन् । तुरुन्तै व्यवस्थित बसोबाससहित उपचारको ग्यारेन्टी हुनुपर्ने उनीहरुको माग छ । स्वास्थ्यकर्मीहरुले बाँकी ८१ जनाको रिपोर्ट पोजिटिभ आए स्थिति अझै चुनौतीपूर्ण हुने भन्दै सचेतसमेत गराएका छन् ।

संक्रमित स्वास्थ्यकर्मीहरु दुई दिनसम्म सुत्न र खानसमेत नपाएको गुनासो गरेका छन् । ‘दुई जना एउटा सरकारी कार्यालयको कोठामा हुनुहुन्छ,’ एक स्वास्थ्यकर्मीले भने, ‘अरु दुई जना अस्पतालकै सुत्केरी वार्डमा । अस्पतालमा भएकाहरुले खानसमेत पाएका छैनन् ।’

संक्रमित स्वास्थ्यकर्मीहरुले यस्तो समयमा आफूहरुको मनोबल बढाउनुको सट्टा प्रशासनले हेलचेक्र्याइँ गरेको आरोप लगाए । ‘अहिलेसम्म हामीलाई कुनै रेपोन्स छैन,’ एक स्वास्थ्यकर्मीले भने, ‘हाम्रो समस्या न अस्पतालले बुझ्यो न प्रशासनले ।’ संकलित नमुनाको रिपोर्ट आएपछि मात्रै काममा फर्किने अडान लिएका उनीहरुलाई अस्पताल प्रशासनले दबाब दिएर काममा लगाएको समेत पाइएको छ । ‘रिपोर्ट आउन दुई साता पनि लाग्न सक्छ । प्रशासनले भनेपछि काममा फर्किनुपर्छ’भन्दै दबाब दिएर अस्पताल प्रशासनले संक्रमितहरुलाई ३ दिनसम्म काममा लगाएको थियो ।

बिहीबार राति कोरोना पोजिटिभ देखिएका दुई चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी शनिबार साँझसम्म अस्पताल र आसपासमै थिए । कोरोना रोकथाम जिल्लास्तरीय कमान्ड फोर्सले संक्रमित स्वास्थ्यकर्मीको व्यवस्थापनमा लापरबाही गरेको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले शनिबार दिउँसो सामूहिक अपिल लेख्दै दु:ख व्यक्त गरेका छन् ।

कोरोना रोकथाम जिल्लास्तरीय कमान्ड फोर्सका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले व्यवस्थापन गरिएको स्थानबाट स्वास्थ्यकर्मीहरु फर्किएको आरोप लगाए । ‘ब्लु एञ्जलमा निर्णय भएर उहाँहरु जानुभएको हो,’ प्रजिअ रेग्मीले भने, ‘केहीबेर बसेपछि फोहोर भयो भनेर फर्किनुभएको हो । अब सरसफाई गरेर नयाँ कपडा फेरेर त्यहीं पठाउँछौं ।’

प्रकाशित : असार ६, २०७७ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?