कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

लकडाउनमै बने ९ वटा मोटरेबल पुल 

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाको भीरकोट नगरस्थित लुव्दीखोला मोटरेबल पुल ६ महिनामै सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय पोखराबाट सञ्चालित उक्त योजना २०७६ असोज २९ मा सम्झौता भई मंसिरबाट निर्माण सुरु गरिएको थियो ।  यही वैशाखमा पुल निर्माण सम्पन्न भएको हो ।

लकडाउनमै बने ९ वटा मोटरेबल पुल 

साढे दुई महिनादेखि मुलुक लकडाउनमा रहे पनि पूर्वाधार कार्यालय पोखराका योजना भने धमाधम सञ्चालन भएका छन् । सामाजिक दूरी कायम गर्दै मजुदर निर्माण कार्यमा जुटेका छन् । लकडाउनकै अवधिमा यही आवभित्र निर्माण सक्नुपर्ने ९ पुल बनेका छन् । त्यसमा स्याङजाका मात्रै ६ वटा छन् ।

यसैगरी, स्याङ्जाकै विरुवा–१ र ४ वडा जोड्ने अम्बोट मोटरेबल पुल पनि हालै निर्माण भएको छ । कार्यालयका इन्जिनियर सुमन गिरीका अनुसार वालिङस्थित अर्मादीखोला पुल, आँधीखोलास्थित नाँगडाँडा–कार्कीनेटा सडकखण्डअन्तर्गत पर्ने बाँस्कोटखोला, पुतलीबजारस्थित घुम्ती–चिसापानी सडकको भुवानेखोला, फेदीखोलाको स्थानेचौर मोटरेबल पुल पनि सम्पन्न भएको छ ।

स्याङ्जाको विरुवा गाउँपालिका अम्बोटमा बनेको मोटरेबल पुल तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर ।

यसैगरी पोखरा महानगरस्थित भलामखोला मोटरेबल पुल, पोखराकै फुस्रेखोला चिसापानी, कास्कीको मादी गाउँपालिकास्थित मादी नदीमाथिको ज्याम्दु मोटरेबल पुलको पनि निर्माण सम्पन्न भएको छ । यो पुल निर्माणाधीन अवस्थामा गत वर्ष बगेको थियो । एकै आर्थिक वर्षमा एउटै जिल्लामा ६सहित ९ पुल सम्पन्न भएकोलाई इन्जिनियर गिरी ठूलो उपलब्धि मान्छन् ।

जिल्ला प्रशासन, प्रदेश र स्थानीय सरकार, जिल्ला समन्वय समितिबीच समन्वय गरी विकास निर्माणका योजना लकडाउनको समयमा पनि सम्पन्न गर्न सफल भएको उनको भनाइ छ । ‘लकडाउन भनेर पुलको काम थाँती राखेको भए के हुन्थ्यो हुन्थ्यो,’ उनले भने, ‘त्यही भएर काम सम्पन्न गरियो । निर्माण व्यवसायी, प्राविधिक र उपभोक्ता जिम्मेवार बन्दा लकडाउनमा पनि निर्माण सम्पन्न गर्न सफल भयौं ।’

प्रकाशित : जेष्ठ २९, २०७७ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?