६ दिनअघि म्याग्दीखोलाले बगाएका अझै बेपत्ता

घनश्याम खड्का

म्याग्दी — मालिका गाउँपालिका, ६ दरवाङ्गस्थित जनप्रिय माविमा रहेको क्वारेन्टाइनबाट म्याग्दी खोलामा नुहाउन गएका धौलागिरी गाउँपालिका-७ धारापानीका १९ वर्षीय राजेश थापा ६ दिनदेखि बेपत्ता छन् । 

गत मंगलबार दिउँसो मालिका गाउँपालिका ७ दरवाङ्गको छ्यारछ्यारेस्थित नदी किनाराको क्वारेन्टाइनबाट निक्लेर म्याग्दी खोलामा नुहाउन गएका थापालाई बगाएको थियो । प्रहरी र स्थानीयले दुई दिनसम्म खोज्दा फेला पार्न नसकेपछि सशस्त्र प्रहरीका गोताखोरलाई बोलाइएको थियो । सशस्त्रका गोताखोरले तीन दिनसम्म खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत जेठ ८ गते भारतबाट फर्केर बेनीको क्वारेन्टाइनमा ७ दिन बसेपछि स्वाब परीक्षणमा नेगेटिभ आएपछि थापासमेत १७ जनालाई जेठ १९ गते घरनजिकै रहेको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा सारिएको थियो ।

बस्तीभन्दा बाहिर खोला किनाराको क्वारेन्टाइनमा बसेका व्यक्ति खोलामा पुगेको र बगेर बेपत्ता भएपछि क्वारेन्टाइनलाई माथिल्लो दरवाङ्गमा रहेको जनप्रिय माविको पक्की भवनमा सारिएको छ ।

‘आँगनकै क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खोलाले बगाएपछि क्वारेन्टाइन नै सारेका छौं,’ मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘क्वारेन्टाइनमा बस्ने निरन्तर थपिएपछि व्यवस्थापनमा समस्या आएको छ । तर सुरक्षा संवेदनशीलता बढेको छ । पाठ सिकेका छौं ।’

क्वारेन्टाइनमा कम्तीमा ५ दिन बसेपछि पीसीआर विधिबाट परीक्षणमा रिपोर्ट नेगेटिभ आएकालाई सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमै राखेर १५ दिन राखी पुन: परीक्षणपछि मात्र रिपोर्ट नेगेटिभ आए घर पठाउने योजना रहेको जिल्ला कोरना कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोस्टले जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?