आइसोलेसन भरिए, संक्रमित थपिए कहाँ राख्‍ने ?

कोरोना भाइरस संक्रमणका १८ बिरामी पुगेपछि धौलागिरि अञ्चल अस्पतालमा थप बिरामी राख्न चुनौती थपिएको छ । १६ बेडको आइसोलेसन रहेको अस्पतालमा बिहीबार हतारहतार केही वार्ड थपिए ।
प्रकाश बराल

बागलुङ — कोरोना भाइरस संक्रमणका १८ बिरामी पुगेपछि धौलागिरि अञ्चल अस्पतालमा थप बिरामी राख्न चुनौती थपिएको छ । १६ बेडको आइसोलेसन बनाएको अस्पतालमा बिहीबार हतारहतार केही वार्ड थपिएका छन् । बढीमा २४ जनासम्म राखेर उपचार गराउने व्यवस्थापन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले बताए ।

बिहीबारमात्रै १० जना बिरामी थपिएका छन् । थपिएका गलकोट नगरपालिकाका-३ बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाका ३/३ जना छन् । उनीहरुलाई अस्पतालमा भर्ना गर्नसमेत बिहीबार दिनभर अन्योल भएको थियो । हतारहतार थपिएका वार्डमा उनीहरुलाई राखियो । जिल्लामा २ साताअघि भारतबाट आएका १ हजार ४ सय जना छन् । उनीहरु सबै क्वारेन्टाइनमा छन् । उनीहरुमध्ये अहिलेसम्म ४ सय जनाको मात्र पीसीआर परीक्षण भएको छ । १ हजारको परीक्षण गर्दा थपिने संक्रमितलाई राख्ने ठाउँ अभाव भएको हो । अस्पतालमा एक जना शंकास्पद बिरामीसमेत आइसोलेसनमा छन् ।

अस्पतालको एउटा भवन अझै निर्माणाधीन छ । २ वटाबाट नियमित उपचार, प्रसूति, डायलसिस, ल्याबलगायतको सेवा दिँदा कोरोना संक्रमित राख्ने कोठा धेरै थप्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनले भने, ‘अब होम आइसोलेसनको व्यवस्थापन गर्नुपर्छ ।’ रोगको लक्षण नदेखिएका संक्रमितलाई घरघरमा सुरक्षित राख्ने योजनाअनुसार जनचेतना अभियान थाल्ने बेला भएको पोखरेलले बताए ।

सदरमुकामबाहेक बुर्तिवाङ र गलकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र र पूर्वाधार राम्रो भएका स्वास्थ्य चौकीमा पनि आइसोलेसन वार्ड बनाउने तयारी गरिएको छ । केही दिनअघिदेखि स्वास्थ्य प्रमुख गुरौसहित प्रमुख जिल्ला अधिकारी र जिल्ला संकट व्यवस्थापन समितिका पदाधिकारीले केही स्थानको अनुगमन गरिसकेका छन् । त्यसरी बनाइने वार्डलाई ‘प्रि–आइसोलेसन’ का रूपमा लिइनेछ । ‘लक्षण नदेखिएका र सामान्य लक्षण भएका बिरामी मात्रै त्यस्ता स्थानमा राख्ने हो, जटिल समस्या भएकालाई अस्पतालमै ल्याइन्छ,’ गुरौले भने, ‘उपकरण, विशेषज्ञ डाक्टर र नर्स भएको स्थानमा मात्रै पूर्ण आइसोलेसन वार्ड बनाउनुपर्छ ।’

अस्पतालबाट नजिकै रहेको धौलागिरि बहुमुखी क्याम्पसमा आइसोलेसन वार्ड बनाउने तयारीसमेत छ । पूर्वाधार र अन्य सरसफाइका सामग्री जुटाएमा अस्पतालकै डाक्टरहरुले उनीहरुको समेत निगरानी गर्न सक्ने भएकाले क्याम्पस उपयुक्त हुने पोखरेलले समेत बताए । क्याम्पसमा पनि शौचालय र स्नान गृहको अभाव हुने भएकोले आवश्यक सामग्री र पानीको व्यवस्थापन गर्न भने चुनौती छ ।


प्रकाशित : जेष्ठ २२, २०७७ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्

अलपत्र परेका नेपालीलाई शुक्रबार यूएईले आफ्‍नै खर्चमा पठाइदिँदै

होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले अलपत्र परेको नेपालीलाई आफ्नै खर्चमा एयर अरेबियाको चार्टर विमानबाट शुक्रबार नेपालीलाई ल्याउने टुंगो लागेको छ । शुक्रबार नेपाल अवतरण हुने समयको भने अझै टुंगो लागेको छैन । बर्माबाट पनि शुक्रबारै २६ जना आउने भएका छन् ।

यूएईले दुई वटा उडान मार्फत् अलपत्र परेकालाई नेपाल पठाइदिने प्रस्ताव राखेको थियो । जसमध्ये पहिलो उडान शुक्रबार तय भएके हो । यूएईले एकसय ६८ सिट क्षमता भएको विमानमा उनीहरुलाई नेपाल पठाउन लागेको हो ।

‘भिजिट भिसामा गई अलपत्र परेका र गर्भवती महिलालाई प्राथमिकतामा राखिएको छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई भने,‘दूतावासले जहाजको क्षमता अनुसार नै नेपालीलाई पठाउनको लागि आन्तरिक तयारी गरिरहेको छ ।’

दूतावासको सर्म्पकमा ५० जना गर्भवती महिला छन् । पहिलो उडानमा सहभागी गराउन नसकिएमा दोस्रो उडानमा सहभागी गराउने दूतावासको भनाई छ ।

विमानमा आउने सबै यात्रुको कोभिड परीक्षण गराएर मात्रै ल्याउने परराष्ट्रको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरीक उड्डायन मन्त्रालयले बिहीबार अबेर मात्रै एयर अरेबियालाई अनुमति दिए लगत्तै परराष्ट्र मन्त्रालयले यूएईस्थित नेपाली दूतावासलाई उडानको अनुमति पठाएको हो । तर, वायुसेवा निगमले राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्सबाट मात्रै कामदार ल्याउनुपर्ने अडानमा थियो ।

‘हामीले शुक्रबार ६ बजे अगाडि नै अवतरण गर्ने प्रबन्ध मिलाउन दूतावासलाई अनुरोध गरेका छौं,’ ती अधिकारीले भने । यूएईमा रहेका झन्डै १८ हजार जना नेपाली कामदार फर्कनको लागि दूतावासमा आवेदन दिएका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ २१:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×