२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जसलाई लकडाउनले छोएन

पर्वतको फलेबास नगरपालिकाका केही महिला अहिले झन् व्यस्त छन् । गार्मेन्ट उद्योग चलाएका उनीहरूलाई मागअनुसार कपडा उत्पादन गर्नै भ्याइनभ्याइ छ ।
अगन्धर तिवारी

पर्वत — फलेबास नगरपालिका–६ देवीस्थानका केही महिला लकडाउनमा अझ व्यस्त छन् । लकडाउनको दुई महिना कट्दा उनीहरू सामान्य बेलामा भन्दा बढी सक्रिय देखिन्छन् ।

जसलाई लकडाउनले छोएन

सृजना बराइलीको अगुवाइमा २ वर्षअघि सुरु गरिएको देवीस्थान सामूहिक महिला उद्योगका आधा दर्जन महिलालाई बिहानदेखि साँझसम्मै फुर्सद छैन । महिला र बालबालिकाका कपडा उत्पादन गरिने सामुदायिक गार्मेन्ट उद्योगमा लकडाउनकै कारण कामको चाप बढेको हो । यहाँ उत्पादित मेक्सी, गाउन, अलादिन, कुर्तासुरुवाललगायत कपडाको सदरमुकाम कुस्मा बजारसम्मै माग छ । सामान्य अवस्थामा व्यापारीहरू काठमाडौं र भैरहवासम्म पुगेर यस्ता कपडा खरिद गर्थे । ‘पहिला यहीँ आसपासका पसलबाट मात्रै माग आउँथ्यो,’ उद्योगकी अध्यक्ष बराइलीले भनिन्, ‘अहिले अन्यत्रका व्यवसायीबाट धेरै अर्डर आउन थालेको छ ।’

बराइलीसहित नीलम श्रेष्ठ, कविता श्रेष्ठ, निरमा श्रेष्ठ, रीता भुसाल, निर्मला भुसालले सामूहिक रूपमा उद्योग दर्ता गरेका हुन् । घरको काम गरेर बचेको समय सदुपयोग गर्न थालेको व्यवसायलाई लकडाउनले मुख्य पेसा बनाइदिएकोमा उनीहरू दंग छन् । ‘टाइम पास गर्न यो उद्योग सुरु गरेका थियौं,’ नीलमले भनिन्, ‘अब व्यवसायी नै भइएलाजस्तो छ ।’ उद्योगमा चार महिलाले नियमित र अरू केहीले आंशिक रूपमा काम गर्दै आएका छन् ।

यहाँ उत्पादित कपडा फेन्सी व्यवसायीलाई थोक मूल्यमा बिक्री गरिँदै आएको छ । गाउँको बीचमा भएकाले कतिपयले एक–दुई थान पनि माग गर्छन् । ‘थोक र खुद्रा बेच्दा मूल्य फरक–फरक हुन्छ,’ बराइलीले भनिन्, ‘एउटै मूल्य कायम गर्दा सबै उपभोक्ता यहीँ आउँछन् । व्यवसायीलाई मार पर्छ ।’

हालसम्म करिब ८ लाख लगानी पुगेको उद्योगलाई थप बिस्तार गरी रोजगारी र व्यवसाय बढाउने सोचमा महिलाहरू छन् । उनीहरूका अनुसार अहिले मासिक करिब डेढ लाख रुपैयाँ बराबरको कपडा उत्पादन हुन्छ । ‘हामी बिहानदेखि साँझसम्मै व्यस्त छौं,’ उद्यमी रीताले भनिन्, ‘लकडाउनको कुनै असर छैन ।’ यो गार्मेन्टमा उत्पादित कपडाका लागि कच्चा पदार्थ चिनियाँ बजारबाट किलोमा जोखेर ल्याउने गरिएको छ ।

उद्योगमा अहिले इन्टरलकसहित ६ वटा सिलाइ मेसिन छन् । मेसिनलगायत उद्योग दर्ता र सञ्चालनमा फलेबास नगरपालिकाले सहयोग गरेको छ । नगरप्रमुख पदमपाणि शर्माका अनुसार एक वडा एक लघु उद्योग कार्यक्रमअन्तर्गत उद्यमी महिलालाई सहयोग गरिएको हो । हरेक वडामा उद्यमी तयार गर्न गत वर्षदेखि नगरपालिकाले सुरु गरेको कार्यक्रमअन्तर्गत यो नमुना काम भएको उनले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?