२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

गण्डकीको नीति तथा कार्यक्रम : कोरोनालाई प्राथमिकता, अधिकांश पुरानै निरन्तरता

प्रतीक्षा काफ्ले

गण्डकी — कोरोना भाइरसबाट जीवनरक्षा र स्वास्थ्य क्षेत्रको विकासजस्ता नयाँ विषय समेट्दै अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिनेगरी गण्डकी प्रदेश सरकारले आइतबार आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

गण्डकीको नीति तथा कार्यक्रम : कोरोनालाई प्राथमिकता, अधिकांश पुरानै निरन्तरता

कोभिड–१९ का कारण मानव सभ्यता र मानव जातिमाथि नै संकट आइपरेको भन्दै महामारीविरुद्ध प्रदेश सरकार सबै क्षमता, स्रोत र साधनका साथ जुटिरहेको सरकारले जनाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ बाट प्रदेशवासीको जीवनरक्षा गर्ने र महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउने मूल लक्ष्य लिएको बताए ।

कार्यक्रममा कोरोनाको रोकथामलगायत यसबाट परेको असरबारे प्राथमिकता दिइएको छ । स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन प्रदेश स्वास्थ्य नीति, कानुन र मापदण्ड तर्जुमा गरिने र स्वास्थ्य क्षेत्रको सुदृढीकरण कार्यक्रमलाई निरन्तरता दिइएको छ । संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना, सबै जिल्ला अस्पतालको स्तरोन्नति, ३ वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिने कार्यक्रममा छ । क्यान्सर, मुटु, मिर्गौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीको उपचारका लागि अति गरिब बिरामीलाई आर्थिक सहयोग गर्ने नीतिलाई निरन्तरता दिइएको छ । मिर्गौला र मुटुरोगको विशिष्टीकृत उपचार सेवा थाल्ने, गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार बनाइने, प्राविधिक र प्रविधिमैत्री शिक्षामा जोड, खेलकुदको विकास, जाति, भाषा, साहित्य, लिपि, कला, संस्कृति र संगीतको संरक्षण र प्रवर्द्धनका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने कार्यक्रममा छ । बहुसांस्कृतिक ग्रामको निर्माण कार्यलाई निरन्तरता, कृषि नीति तथा गुरुयोजना तर्जुमा र व्यावसायिक कृषिमा जोड दिइएको छ । एक पालिका एक उत्पादनलाई निरन्तरता दिइएको छ । स्याउमा आत्मनिर्भर र आलु उत्पादन कार्यक्रम सुरु गरिने भएको छ ।

प्रादेशिक दुग्ध नीति तर्जुमा, प्रदेश दुग्ध विकास बोर्डलाई क्रियाशील बनाइने जनाइएको छ । सिँचाइ नदी तथा खोला नियन्त्रणमा जोड दिइएको छ । पर्यटन क्षेत्रको दिगो विकास र व्यवस्थापन गर्न पर्यटन नीति र पर्यटन गुरुयोजना तर्जुमा गरिने जनाइएको छ । नेपाल सरकारसँगको सहकार्यमा कास्कीको पुँडिटार र नवलपुरको लोकाहाखोलामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको विकास गरिने भएको छ । एक स्थानीय तह एक उद्योग ग्राम स्थापना गर्ने नीतिलाई निरन्तरता दिइएको छ ।

गण्डकी विज्ञान प्रविधि प्रतिष्ठान स्थापना, यातायात क्षेत्रको योजनाबद्ध विकास, सिँचाइ, सडक, झोलुंगेपुल लगायतमा पनि जोड दिएको छ । गण्डकी उज्यालो प्रदेश घोषणा, एकघर एक धारा, उद्यमशीलताको विकास, प्रदेशस्तरीय आयोजना बैंक स्थापना गरिने भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नीति तथा कार्यक्रमले कोरोनालाई सम्बोधन गर्न खोजेको भए पनि अहिलेको परिस्थितिलाई बुझ्न नसकेको टिप्पणी गरे । उनले पुरानै ढर्रामा पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएको जनाए ।

प्रकाशित : जेष्ठ १८, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?