बागलुङमा भीड बढेसँगै थपिए क्वारेन्टाइन

प्रकाश बराल

बागलुङ — लकडाउनको दुई महिनासम्म खाली देखिएका बागलुङका क्वारेन्टाइन खचाखच भरिन थालेका छन् । चार सय जना अट्ने क्वारेन्टाइनले नधानेपछि सबै पालिकाले विद्यालय, सामुदायिक भवन र प्राविधिक शिक्षालयलाई पनि प्रयोगमा ल्याएका छन् ।

जेठ ५ यता भारतबाट भित्रिनेहरू बढेसँगै क्वारेन्टाइन भरिएका हुन् । शुक्रबारसम्म जिल्लाभरका १० पालिकामा गरी ५ सय १५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयप्रमुख सुरज गुरौले बताए । ‘आएकाहरू कोही पनि घर गएका छैनन्, बरु मापदण्ड नपुगेकालाई पुर्‍याउन लगाएका छौं,’ उनले भने, ‘आएर बस्न थालेको ५ दिन कटेका सबैको स्वाब संकलनको क्रम चलिरहेको छ ।’

सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा १ सय ३३ र निसीखोला गाउँपालिकामा १ सय २४ जना छन् । त्यस्तै तमानखोलामा १४, ताराखोलामा १६, बडिगाडमा १ सय ७, काठेखोलामा २२ र बरेङ गाउँपालिकामा ४ जना छन् । बागलुङ नगरपालिकामा ३४, जैमिनी नगरपालिकामा १२ र गलकोट नगरपालिकामा ५० जना क्वारेन्टाइनमा बसेका छन् ।

यसअघि बागलुङ नगरपालिकाले ३ सयभन्दा बढीलाई क्वारेन्टाइन राखेकामा नेगेटिभ रिपोर्ट आएपछि घर पठाएको थियो । मापदण्ड नपुगेको टिप्पणी भएपछि पहिला बनेका क्वारेन्टाइनमा सेवासुविधा थप गरिएको छ । सातादिनमै जिल्लामा झन्डै १ सय ५० क्वारेन्टाइन थपिएका छन् । अझै भारतबाट आउने क्रम जारी रहेकाले क्वारेन्टाइन थपिएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । ‘खानेपानी, सरसफाइ, साबुन, शौचालय र खानपानको गुणस्तरमा ध्यान दिएर मात्रै क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने, ‘यसअघि पनि भारतबाट पैदलै आएकालाई राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घरमा पठाएका थियौं ।’ बुधबार संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइसकेको गुरौले जानकारी दिए ।

सबै क्वारेन्टाइनका मानिसको स्वाब संकलनका लागि धौलागिरि अञ्चल अस्पतालका दुई टोली खटिएका छन् । उनीहरूले स्वाब संकलन गर्दै परीक्षणका लागि पोखरा पठाउने गरेका छन् ।

भारतबाट आएका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएपछि धौलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । उनीहरूको अवस्था सामान्य रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । ‘एक–दुई जनामा सामान्य खोकी थियो, त्यो पनि दुई दिनमा निको भइसक्यो,’ उनले भने, ‘सामान्य अवस्थामा आराम गरेर बसिरहनुभएको छ ।’

प्रकाशित : जेष्ठ १७, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?