१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चीनबाट ल्याएको पीसीआर मेसिन थन्कियो, द्रुत गतिमा परीक्षण गर्न अझै एक महिना लाग्‍ने

संघले गण्डकी प्रदेश सरकारलाई प्रदान गरेको पीसीआर मेसिनले डेढ घन्टामा एउटाभन्दा बढी परीक्षण गर्न नसकेपछि थन्क्याइएको छ ।
दीपक परियार

पोखरा — गण्डकी प्रदेशमा पीसीआर मेसिन नभएकाले गत चैतमा बागलुङका दुई जनाको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको थियो । परीक्षण रिपोर्टमा दुवैमा कोरोना संक्रमण पुष्टि भयो । संघले चैतमै चीनबाट खरिद गरेको एक पीसीआर मेसिन गण्डकी प्रदेशलाई पठायो । ओम्नी समूहले ल्याएको उक्त मेसिनले दिनमा १२ वटामात्रै परीक्षण गरेपछि हाल थन्क्याइएको छ । 

चीनबाट ल्याएको पीसीआर मेसिन थन्कियो, द्रुत गतिमा परीक्षण गर्न अझै एक महिना लाग्‍ने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै रहेको पुरानो पीसीआर मेसिनबाट कोरोनासमेत परीक्षण गर्न मिल्ने पछि मात्रै थाहा भयो । विश्व स्वास्थ्य संगठनको ग्लोबल फन्डअन्तर्गत प्राप्त उक्त मेसिनबाट एचआईभी परीक्षण हुँदै आएको थियो । सामान्य मर्मतपछि नयाँ मेसिनले भन्दा बढी परीक्षण त्यही पुरानोबाट भयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले संघ सरकारले प्रदान गरेको पीसीआर मेसिनले डेढ घन्टामा एउटाभन्दा बढी परीक्षण गर्न नसकेपछि थन्क्याइएको बताइन् । ‘त्यो मेसिनबाट परीक्षण गर्दा समयमात्रै खेर गयो, हामीलाई थोरै समयमा धेरै परीक्षण गर्नुपर्ने थियो,’ उनले भनिन्, ‘२/३ दिनमात्रै ट्रायलको रुपमा चलाएर थन्क्याइयो ।’ हाल संघ सरकारले सबैतिर उक्त मेसिन नचलाउन परिपत्र नै गरिसकेको उनले जनाइन् ।

भारतबाट प्रदेशमा प्रवेश गर्नेको संख्या बढ्दै गएकाले द्रुत गतिमा परीक्षण गर्ने भन्दै गण्डकी प्रदेश सरकारले ३० लाख ८० हजार रुपैयाँमा नयाँ पीसीआर मेसिन खरिद गरेको छ। मेसिनलाई हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रदेश ल्याबमा राखिएको छ । आइतबार ल्याइएको मेसिनबाट परीक्षण सुरु भइसके पनि पूर्ण क्षमतामा काम गर्न सकेको छैन ।

प्रदेश ल्याबमा यसअघि नै पीसीआर मेसिन भएकाले नयाँ मेसिन राख्न स्थान अभाव देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शिशुवामा रहेको लेखनाथ लायन्स सामुदायिक अस्पताल र हस्पिटलचोकमा रहेको क्षेत्रीय क्षयरोग केन्द्रमा मेसिन राख्न सक्ने जनाएको छ । पृथ्वीनारायण क्याम्पसको नवनिर्मित अडिटरियम हललाई समेत विकल्पमा राखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त सुवेदीका अनुसार हाल २ मेसिनबाट दैनिक औसत एक सय र अधिकत २ सय स्वाब परीक्षण हुन्छन् । पीसीआर मेसिन सेटअपको अभावले पूर्ण क्षमतामा चल्न सकेका छैनन् । पूर्ण क्षमतामा चल्दा दोब्बर परीक्षण बढाउन सकिन्छ । परीक्षणको दर कम हुँदा नमुना संकलनले समेत तीव्रता पाएको छैन । ‘संकलन गरिएको स्वाब २ दिनभित्र परीक्षण गरिसक्नुपर्छ,’ उनले भनिन्, ‘हाम्रोमा अहिले अधिकतम २ सयभन्दा बढी परीक्षण गर्ने क्षमता छैन । एकैपल्ट धेरै स्वाब ल्याएर राख्न सक्ने अवस्था छैन ।’

एउटा मेसिन सञ्चालन गर्न ६ प्रयोगशालाकर्मी आवश्यक हुन्छ । नयाँ मेसिन आएपछि कर्मचारी थप्ने प्रक्रिया सुरु भएको उनले बताइन् । ‘मेसिनमात्रै पठाएर भएन,’ उनले भनिन्, ‘त्यसलाई सञ्चालन गर्न आवश्यक टिम र अन्य सामग्री पनि चाहिन्छ । परीक्षण सुरु गर्न अझैं केही समय लाग्ला ।’

गण्डकीका जिल्लामा प्रदेश स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाकर्मीलाई तालिम दिइरहेका छन् । स्वाब संकलन, ढुवानी, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को प्रयोगलगायत सम्बन्धमा प्रयोगशालाकर्मीलाई तालिम दिइएको हो । नवलपुर, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत र म्याग्दीमा तालिम सम्पन्न भइसकेको छ । गोरखामा चलिरहेको छ । मुस्ताङ र मनाङमा भने पहिलेकै जनशक्तिले पुग्ने भएकोले थप नगरिएको सुवेदीले बताइन् ।

नयाँ पीसीआरले पूर्ण क्षमतामा काम गर्न करिब एक महिना लाग्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख खिमबहादुर खड्का बताउँछन् । उनका अनुसार हाल प्रदेश ल्याबको एकै सेटअपमा २ पीसीआर मेसिन राख्नुपरेकोले पूर्ण क्षमतामा परीक्षण नभएको हो । मेसिनलाई आवश्यक छुट्टै सेटअपका लागि सामग्री खरिद गर्न करिब २ करोड रुपैयाँ खर्च हुन्छ । भीटीएम, पीसीआर किट, पीपीईलगायत र प्रयोगशालामा चाहिने अन्य सामग्रीका लागि त्यति रकम लाग्ने उनको दाबी छ । त्यसका लागि खरिद प्रक्रियामै एक महिना लाग्ने उनले बताए ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले नयाँ पीसीआर मेसिन राख्ने स्थानको खोजी भइरहेको बताइन् । नयाँ मेसिनबाट काम सुरु भएपछि परीक्षणको दायरा बढ्ने उनको भनाइ छ । भारतबाट धमाधम घर फर्किरहेकाहरुको परीक्षण यथाशीघ्र गर्नुपर्ने भएकोले मेसिन थप गरिएको उनले जनाइन् । ‘मेसिनले पूर्ण क्षमतामा काम गर्न थालेपछि परीक्षणको दर र दायरा बढ्छ,’ उनले भनिन्, ‘भारतबाट फर्किनेहरुको परीक्षण निश्चित समयभित्र गरिसक्नुपर्ने भएकोले परीक्षण बढाउन दबाब छ ।’

गण्डकी प्रदेशमा कोभिड–१९ संक्रमितको संख्या १९ पुगेको छ । शुक्रबार मात्रै नवलपरासी पूर्वका २ जनामा जनामा कोरोना संक्रमण देखिएको हो । तेस्रो मुलुकबाट आएका बागलुङका २ जनामा कोरोना संक्रमण भएर निको भइसक्दासमेत गण्डकी प्रदेशमा लामो समयसम्म अन्यमा संक्रमण देखिएको थिएन । संक्रमितमध्ये अधिकांश भारतबाट फर्किएकाहरु रहेका छन् ।

गण्डकी प्रदेशमा गरिएको कुल पीसीआर परीक्षण संख्या २ हजार ४ सय ४३ छ । जसमा नेगेटिभ २ हजार ३ सय १८ र १०६ को नतिजा आउन बाँकी छ । हालसम्म गण्डकी प्रदेशमा आरडीटी हजार ६ सय ३० जनाको गरिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?