कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रहरी भवन बनाउन ल्याइएको अवैध काठ वनको नियन्त्रणमा

प्रहरी भवन निर्माणको जिम्मा पाएका प्रतिनिधिसहित पाँच पक्राउ
हरिराम उप्रेती

गोरखा — जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि भिमसेन थापा गाउँपालिका–८ महादेवटार ल्याइँदै गरेको अवैध काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । काठसँगै पाँच जना पक्राउ परेका छन् ।

प्रहरी भवन बनाउन ल्याइएको अवैध काठ वनको नियन्त्रणमा

अमलाभञ्ज्याङबाट ९ थान सालको चिरान (३.७५ क्यु फिट) र ३ सय २७ थान वर (८८.८८ क्यु फिट) काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका प्रमुख तोयानाथ पौडेलले बताए ।

भिमसेन थापा गाउँपालिका–८ का सवारी चालक २८ वर्षीय सरोज श्रेष्ठ, सवारी चालक २७ वर्षीय रमेश कुमाल, सहचालक १९ वर्षीय नवराज परियार र १९ वर्षकै दिपेन्द्र कुमाललाई पक्राउ गरी अनुसन्धन गरिएको डिभिजन वन कार्यालले जनाएको छ । काठ ढुवानी गर्न प्रयोग भएको ग १ त ३८७३ र ग १ त ६२२८ नम्बरको ट्याक्टर पनि नियन्त्रणमा लिएको पौडेलले बताए ।

पक्राउ परेकाहरुले जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि काठ ढुवानी गर्न लागेको बयान दिएका छन् । सोही बयानको आधारमा प्रहरी कार्यालय भवन निर्माणको जिम्मा पाएका रोयल कन्ट्रक्सनका प्रतिनिधि हरि विष्टलाई पनि वन कार्यालयको टोलीले पक्राउ गरेको छ । विष्ट जिल्ला प्रहरी कार्यालय परिसरको बन्दै गरेको भवन निर्माणस्थलबाट पक्राउ परेका हुन् । अनुसन्धानको क्रममा उक्त काठ प्रहरी भवन निर्माणका लागि ल्याउन लागेको विष्टले पनि स्वीकार गरेको वन कार्यालय गोरखाका एक कर्मचारीले बताए ।

‘साल र वरको काठ ओसारपसार भइरहेको स्थानीयको सूचनाको आधारमा कार्यालयबाट टोली खटाएका थियौ,’ पौडेलले भने, ‘टाँचा र निसाना नलागेको, ओसारपसार इजाजत (छोड पुर्जी ) बेगरको अवैध काठ फेला पारेका हौँ, यसको अनुसन्धान जारी छ ।’ वोर्लाङबाट यसअघि पनि काठ चोरी निकासी हुने गरेको स्थानीयको दाबी छ ।

भूकम्पले भत्काएको जिल्ला प्रहरीको भवन गत पुस महिनाबाट पुनर्निर्माण सुरु गरिएको छ । आठ करोडको लागतमा प्रहरी कार्यालय भवन बन्न लागेको हो । लकडाउनको बेला कैलालीबाट २८ मजदुर ल्याएर प्रहरीको भवन निर्माणलाई निरन्तरता दिइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारी र प्रजिअको जोड बलमा मजदुरहरुलाई कोरोना संक्रमित जिल्ला कैलालीबाट गोरखा ल्याएपछि स्थानीय स्तरमा आलोचना भएको थियो ।

प्रहरी प्रमुख एसपी अधिकारी भने प्रहरीले नै काठ नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको बताए । ‘कहाँबाट कसरी काठ ल्याउने ठेकेदारको कुरो हो, हामीसँग सम्बन्धित हुने कुरो भएन, रित नपुगेको बुझेपछि नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका छौँ,’ उनले भने, ‘यसको अनुसन्धान वन कार्यालयबाट भइरहेको छ ।’

प्रकाशित : जेष्ठ १६, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?