मर्स्याङ्दी गाउँपालिकाले युवालाई दिन थाल्यो बिनाब्याज ऋण 

आश गुरुङ

लमजुङ — युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउन मर्स्याङ्दी गाउँपालिकाले ब्याज मिनाह हुने गरी ऋण उपलब्ध गराउन थालेको छ ।
विदेश पलायनबाट रोकी आफ्नै गाउँठाउँमा कृषि कर्ममा लाग्न युवालाई ब्याज सहुलियत दिने गरी  गाउँपालिकाले ऋण प्रवाह गर्न थालेको हो ।

मर्स्याङ्दी गाउँपालिकाले युवालाई दिन थाल्यो बिनाब्याज ऋण 

मर्स्याङ्दी गाउँपालिका ७, शेराका केशलाल तामाङले ब्याज सहुलियत ऋणले थप जाँगर पलाएको बताए । उनले कुखुरा, बाख्रा, माछा र बंगुर पालनका लागि ब्याज तिर्न नपर्ने ऋण लिएको बताए । ‘हामीजस्ता किसानलाई ब्याज तिर्न नपरेपछि त्यही राम्रो हो । व्यवसाय गरेपछि साँवा जसरी पनि तिरिन्छ, कुनै समस्या छैन,’ उनले भने ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन ब्याज नलाग्ने गरी ऋण उपलब्ध गराउन थालेको बताए । ‘युवालाई आत्मनिर्भर बनाई विदेश जानबाट रोक्ने हाम्रो प्रयास हो । गाउँठाउँमै बसेर केही गर्न चाहने युवालाई हामीले ब्याज नलाग्ने गरी ऋण दिन थालेका छौं,’ उनले भने । गाउँसभाबाट अनुमोदन गरी युवालाई ब्याज सहुलियत कर्जा प्रवाह गरिएको उनले बताए । ‘गाउँसभाबाट युवा उद्यमशीलता विकास कोष कार्यक्रम पास गर्‍यौं । नियमावली र कार्यविधि बनाएर कर्जा प्रवाह थालेका छौं,’ अध्यक्ष गुरुङले भने ।

गाउँपालिकाले युवा उद्यमशीलता विकास कोष स्थापना गरी चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ जम्मा गरेको छ । अर्को वर्ष थप ५० लाख राखेर कोषलाई १ करोड पुर्‍याइने भएको छ । त्यसपछि आवश्यकताअनुसार थप्ने गाउँपालिकाले नीति लिएको छ । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार चालु वर्षमा विनियोजित बजेटमध्ये कृषि तथा कुखुरा पालनका लागि २८ लाख ५० हजार, भैंसी तथा बाख्रा पालनका लागि ७ लाख ५० हजार र स्थानीय प्रकृतिका घरेलु उद्योगका लागि ४ लाख सरल कर्जा वितरण गरिने छ ।

कोषका कार्यक्रम अधिकृत विष्णुप्रसाद दाहालका अनुसार गाउँपालिका भित्रका ७१ युवाले आवेदन दिएकोमा चालु आवमा १८ युवा छनौट भएका छन् । १८ वर्षदेखि ४० वर्ष ननाघेका युवाका लागि प्राथामिकता र कार्यविधिले तोकेबमोजिम ब्याजबिनाको ऋण प्रवाह गर्न थालिएको उनले बताए । कोषबाट कम्तीमा १ लाख र बढीमा ५ लाख रुपैयाँसम्म ब्याज सहुलियतको ऋण उपलब्ध हुनेछ । उनका अनुसार एकतिहाई समयमा ऋण चुक्ता गर्नुपर्ने छ । एक वर्षका लागि ऋण लिनेले ४÷४ महिनामा बुझाउनुपर्नेछ । ३ वर्षका लागि लिनेले वार्षिक रुपमा बुझाउनुपर्नेछ । पहिलो किस्ता २० प्रतिशत, दोस्रो किस्ता ३० प्रतिशत र अन्तिम किस्ता ५० प्रतिशत तिर्नुपर्ने उनले बताए । तोकिएको मितिमा किस्ता रकम जम्मा नगरेमा १२ प्रतिशतका दरले जरिवाना लाग्ने उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाका अनुसार व्यावसायिक फर्म दर्ता गरेर सुरु गरेका र छनौटमा परेका युवालाई वडा कार्यालयको सिफारिसमा ऋण दिन थालिएको हो । ‘जसले आफ्ना कृषि कर्म र व्यवसाय सुरु गरेका छन् । उनीहरु आफ्ना व्यवसायबाट पलायन हुन नदिने गाउँपालिकाको नीति हो,’ उनले भने, ‘यस वर्ष कम युवाले ब्याज सहुलियतको ऋण पाए पनि अर्को वर्ष अझ धेरैले पाउन सक्छन् ।’ युवालाई स्थानीय तहमा लगानीमैत्री वातावरण बनाएर बेरोजगारी न्यूनीकरण, जीवन निर्वाहका लागि विदेशिने बाध्यताको अन्त्य, स्थानीय उत्पादनलाई जोड दिन कर्जा सहुलियतको कार्यक्रम ल्याइएको उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?