'संविधानको विरोधमा अर्को विद्रोह नहोला भन्न सकिन्न'
पोखरा — गण्डकी प्रदेशको छैटौं अधिवेशनअन्तर्गत बुधबारको बैठकमा बोल्ने सांसदले रुकुम हत्याकाण्डको चर्को विरोध गरेका छन् । उनीहरुले जेठ १० मा रुकुममा भएको घटना र कास्कीमा दलितलाई किरियापुत्री भवन उपलब्ध नगराएको घटनाका दोषीलाई कारबाहीको माग गरे ।
दुवै घटनाका दोषीलाई राजनीतिक आवरणमा उम्काउने चेष्टा भइरहेको प्रदेश सांसदको आरोप छ । संसद्मा बोल्दै हरिशरण आचार्यले रुकुम घटनाका विषयमा संघीय सांसद जनार्दन शर्माले मंगलबार संसदमा दिएको अभिव्यक्तिको विरोध गरे । ‘यस्तो बर्बर हत्या काण्डमा संलग्न वडाध्यक्ष निर्दोष छन् भनेर एक जना संघको तल्लो सदनमा कुर्लिंदै बोल्छन्,’ आचार्यले भने, ‘समाजले सामाजिक हैसियत हेर्छ, कसरी र कसको कोखबाट जन्मिएको भनेर विभेद गर्छ भने याद गर्नुस् महासय तपाईंले बनाएको संविधानको विरोधमा पनि फेरि एकपल्ट अर्को विद्रोह नहोला भन्न सकिन्न ।’
आफैंले बनाएको संविधानको आफैंले उपहास गर्ने काम भएको उनको भनाइ थियो । ‘आज सामाजिक विभेदको यो एउटा नमुना घटना होला तर हामीलाई चिन्ता के हो भने आफैंले संविधान बनाएर आफैंले उल्लघंन गर्ने !’ उनले भने, ‘वर्गसंघर्षबाट खारिएर आएको कम्युनिस्ट व्यक्तित्व तपाईंलाई लाज लाग्नुपर्ने हो ।’ उक्त घटनाको दोषीलाई बिनाछलकपट कारबाही गरी देशभर सामाजिक विभेदमा परेका सम्पूर्ण समुदायलाई न्याय दिन उनले आग्रह गरे ।
कास्कीको पोखरा–१६ बाटुलेचौरमा दलितलाई किरियापुत्री भवन उपलब्ध नगराउनेकै पक्ष एक प्रदेश सांसदले लिएको भन्दै उनले विरोध जनाए । जातीय छुवाछुतमा संलग्नलाई बिनासर्त रिहाइ गर्नुपर्ने आग्रहको विज्ञप्ति प्रदेश सांसद कृष्णबहादुर थापाले प्रकाशित गरेको प्रति पनि उनले विरोध गरे । भने, ‘एउटा दलको जिल्लाको नेतृत्वको हैसियतले निकालेको उक्त वक्तव्यलाई के भनौं ? के अझैं तपाईंहरु सामाजिक विभेद, भेदभाव र छुवाछुत गरिराख्नुहुन्छ ? यदि त्यसो गर्नुहुन्छ भने त्यो प्रवृत्ति एकदिन अवश्य पनि जनताबाट पराजित हुनेछ । दोषीलाई कानुनबमोजिम कारबाही अगाडि बढाउन सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।'
अर्का सांसद डोबाटे विश्वकर्माले रुकुमको घटनाले सिंगो दलित समुदायलाई असुरक्षित महसुस गराएको बताए । दोषीलाई कारबाही गर्न कुनै बहानाबाजी कोहीबाट पनि हुन नहुने उनको भनाइ थियो । पोखरा बाटुलेचौरको घटनालाई ढाकछोप गर्न प्रदेश सांसदसमेत रहेका नेकपाका जिल्ला अध्यक्ष लाग्नु दुःखदायी भएको उनले सुनाए । ‘यस विषयमा मैले सांसद थापासँग कुरा गरेँ,’ उनले भने, ‘दलित अन्यायमा परेको कुरालाई तिललाई पहाड बनाइएको भन्ने प्रतिक्रिया दिनुभयो ।’ बाटुलेचौरको घटनामा पनि उच्चस्तरीय छानबिन समिति गठन गरेर आवश्यक कारबाही गर्न उनले माग गरे ।
मंगलबारको बैठकमा समेत सांसदले रुकुम र कास्कीको घटनामा विरोध जनाउँदै दोषीलाई कारबाहीको माग गरेका थिए ।
प्रकाशित : जेष्ठ १४, २०७७ २०:४६