२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कुस्माका होटलमा क्वारेन्टाइन, सुरक्षा जिम्मा सेनालाई

अगन्धर तिवारी

पर्वत — भारतबाट भित्रिनेको संख्या बढ्दै गएपछि सदरमुकाम कुस्माका मुख्य होटलहरूलाई क्वारेन्टाइन बनाउन थालिएको छ । जिल्ला प्रशासनका अनुसार होटल व्यवसायी र जिल्ला सुरक्षा समितिको छलफलपछि होटलहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न थालिएको हो ।

कुस्माका होटलमा क्वारेन्टाइन, सुरक्षा जिम्मा सेनालाई

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बुधबार पत्रकारसँगको छलफलमा होटललाई क्वारेन्टाइन बनाउँदा संक्रमण नफैलने र क्वारेन्टाइनको गुणस्तर पनि राम्रो हुने बताइन् । ‘अहिले भारतबाट आएकाहरूलाई सिधै गाउँमा पठाउँदा झन् बढी जोखिम छ,’ उनले भनिन्, ‘बसबाट सिधै ल्याएर होटलमा राख्दा सबै सुरक्षित हुन्छन् । उनीहरूको पीसीआर गरेर मात्रै सम्बन्धित पालिकामा पठाइन्छ ।’ पीसीआर नेगेटिभ आएकाहरूलाई पनि सम्बन्धित पालिकाका क्वारेन्टाइनमा कम्तीमा तीन साता बसेपछि मात्रै घर पठाउने निर्णय भएको प्रजिअ नेपालले बताइन् ।

तत्कालका लागि कुस्माको साझा चोकनजिकैको एक होटल र छमर्केस्थित रिसोर्टलाई क्वारेन्टाइन बनाइएको हो । ती दुई क्वारेन्टाइनमा ४१ जनालाई राखिएकोमा २९ जनालाई मंगलबार सम्बन्धित पालिकामा पठाइएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आए पनि कम्तीमा २ देखि ३ साता क्वारेन्टाइनमा बस्नुपर्ने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए ।

प्रशासनका सूचना अधिकारी घनश्याम गौतमका अनुसार बुधबार पनि करिब ४० जना पर्वत आउने खबर छ । ‘सीमित क्वारेन्टाइनले नधान्ने भएकाले होटलमा राखिएको हो,’ उनले भने, ‘आज पनि धेरै आउँदै हुनुहुन्छ ।’ एउटै यात्रामा सँगै आएकालाई एकै स्थानमा राख्ने गरिएको उनले बताए । भारतबाट भित्रिनेको संख्या बढ्दै गए सदरमुकामका अरू होटललाई पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी भएको प्रशासनले जनाएको छ ।

ती होटलको सुरक्षा जिम्मा सेनालाई दिइएको छ । होटलसँगै सदरमुकामको शिवालय माविमा निर्माण गरिएको क्वारेन्टाइन सुरक्षाको जिम्मा पनि सेनालाई नै छ । विभिन्न जिल्लामा क्वारेन्टाइनमा बसेकाहरू भाग्न थालेपछि यहाँ सेनालाई खटाएर कडाइ गरिएको हो ।

यसैबीच प्रजिअ नेपालले आफ्नो ३६० दिनको दिनको पर्वत बसाइमा भएका कामहरू सार्वजनिक गरिन् । आफू अब चितवन सरुवा भएको भन्दै उनले कोभिड–१९ रोकथाममा पर्वतलाई गण्डकी प्रदेशकै पहिलो नम्बरमा पारेको दाबी गरिन् । ‘आइसोलेसन अस्पतालदेखि अहिले होटललाई क्वारेन्टाइन बनाएर बजार तथा गाउँलाई जोखिममुक्त राख्नु हाम्रा लागि चुनौती थियो,’ उनले भनिन् । नेपालका अनुसार हालसम्म पर्वतमा ५ सय ८४ जनाको आरडीटी र १ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?