३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भारतबाट प्रवेश गर्नेको ज्वरोसमेत नापिएन

गौरीफन्टा नाका हुँदै भारतबाट शनिबार ५४ जना गण्डकी प्रदेश प्रवेश गरेका छन् । प्रदेशको नाकामा न उनीहरुलाई थप परीक्षण भयो, न त क्वारेन्टाइनमै बस्न भनियो ।
दीपक परियार

पोखरा — गौरीफन्टा नाका हुँदै भारतबाट शनिबार छिरेकामध्ये ५४ जना गण्डकी प्रदेश प्रवेश गरे । उत्तराखण्ड राज्यको हरिद्वारबाट उनीहरु पर्वत, बागलुङ र म्याग्दी फर्किएका हुन् । आबुखैरेनी चेकपोस्टमा आइपुग्दा उनीहरुको ज्वरोसमेत नापिएन । प्रदेशको नाकामा न उनीहरुलाई थप परीक्षण भयो, न त क्वारेन्टाइनमै बस्न भनियो ।

भारतबाट प्रवेश गर्नेको ज्वरोसमेत नापिएन

५४ जनामध्ये पर्वत नाग्लिबाङका प्रकाश क्षेत्रीसहित ७ जना बागलुङको रामरेखामा क्वारेन्टाइनमा छन् । भारतबाट आएकोले कसैले नभनीकनै आफै क्वारेन्टाइनमा बसेको क्षेत्रीले बताए । ‘बाँकी साथीहरु आआफ्नै घरतिर जानुभयो,’ फोनमा उनले भने, ‘क्वारेन्टाइनमा बस्नुभएको छ कि छैन, थाहा छैन ।’

गाउँकै छिमेकीले सरकारी कार्यालयमा मासिक ३० हजार भारतीय रुपैयाँ तलब पाउने भनेपछि साथीहरुसहित प्रकाश पनि ६ महिनाअघि हरिद्वार हान्निएका थिए । त्यहाँ पुगेपछि दलालले सरकारी कार्यालय नभई नेटवर्किङ कम्पनीमा काम लगाइदिए । सुरुमै २० हजार भारतीय रुपैयाँ कम्पनीलाई बुझाउनुपर्‍यो । कम्पनीले १० हजार रुपैयाँ बराबरको सामग्री दियो, जुन उनीहरुले बेच्नुपर्ने थियो । जसोतसो काम गरिरहेका थिए, लकडाउन सुरु भइहाल्यो ।

खानबस्नै समस्या भएपछि सबैले फर्कने निधो गरे । एक साताअघि हरिद्वारबाट प्रतिव्यक्ति २ हजार भारतीय रुपैयाँ तिरेर बसमा गौरीफन्टाका लागि हिँडे । उत्तर प्रदेशको पल्लियामा उनीहरु रोकिए । त्यहाँ २ दिन उनीहरुलाई क्वारेन्टाइनमा राखियो । ‘नाम मात्रैको क्वारेन्टाइन थियो,’ प्रकाशले भने, ‘ओढ्ने ओछ्याउने केही थिएन, खान पनि पाइएन ।’ उनका अनुसार भारतीय पक्षले जान नदिएपछि क्वारेन्टाइनमा झन्डै २ हजारको संख्यामा रहेका नेपाली आन्दोलनमा उत्रिए ।

त्यसपछि नेपाल फर्किने अनुमति पाए । सीमामा ज्वरोमात्रै नापेर प्रवेश दिइयो । धनगढीबाट पूर्वतर्फ आउने भारतीय कामदारलाई बोक्न स्थानीय बसधनीले पास बनाएर ल्याए । कामदारलाई छोड्दै आउँदा तीन दिनमा उनीहरु शनिबार बागलुङ आइपुगेका हुन् । प्रतिव्यक्ति ३ हजार रुपैयाँ भाडा तिरेको प्रकाशले बताए । ‘नेपाल आएपछि झन् केही खान पाइएन,’ उनले भने, ‘पोखरा आइपुगेपछि एउटा संस्थाले खाना खुवायो ।’

शनिबार आबुखैरेनी र राम्दी नाकाबाट भारतबाट आएका १ सय ९४ जना गण्डकी प्रदेश प्रवेश गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक अनुसार लकडाउनपछि हालसम्म यो संख्या २ हजार ७ सय ८९ पुगेको छ ।

उनीहरुलाई सिधै क्वारेन्टाइनमा राख्न र स्वास्थ्य परीक्षण गर्न गण्डकी प्रदेश सरकारले हालसम्म योजना बनाइसकेको छैन । भारतको संक्रमित क्षेत्रबाट आएका मानिसको व्यवस्थापन योजना नबन्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता काशीराम गैरे उनीहरुको व्यवस्थापन गर्न योजना बनिरहेको बताउँछन् । ‘प्रदेशको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले निर्णय गर्न बाँकी छ,’ उनले भने, ‘स्थानीय तहलाई जिम्मेवारी दिने गरी प्रदेशले सोचिरहेको छ ।’ छिट्टै व्यवस्थापन नगरिए कोभिड–१९ को संक्रमण फैलन सक्ने जोखिम रहेको उनले स्विकारे ।

शनिबार गण्डकी प्रदेशमा विभिन्न नाका हुँदै २ हजार २ सय ५६ जना प्रवेश गरेका छन् । लकडाउनको अवधिमा हालसम्म ८२ हजार ४ सय १ जना प्रदेशमा भित्रिएको तथ्यांक छ । विदेश र अन्य प्रदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा बस्ने २ हजार ५ सय ५३ छन् ।

स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा हाल ५ सय ६९ जनामात्रै छन् । प्रदेशमा मापदण्ड पूरा भएका क्वारेन्टाइन ७ सय ९६ बेड मात्रै छ । ३ सय २ आइसोलेसन बेड छन् । गोरखामा २, नवलपुरमा १ र मुस्ताङमा १ जना आइसोलेसनमा छन् । गण्डकी प्रदेशमा स्वाब परीक्षण क्षमता दैनिक २ सय जना प्रतिदिन छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?