गण्डकी प्रदेशको वर्षे अधिवेशन सुरु

कोभिड–१९ महामारीले प्रदेश सरकारको महत्त्व बुझाइदिएको छ: मुख्यमन्त्री गुरुङ
प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेशसभाको वर्षे अधिवेशन सुरु भएको छ । कोरोना भाइरसका कारण लामो समयसम्म सुचारु हुन नसकेको प्रदेशसभा बैठक आइतबारदेखि सुरु भएको हो ।

गण्डकी प्रदेशको वर्षे अधिवेशन सुरु

विगतमा जस्तै यसपटक प्रदेशसभा बैठक प्रदेशसभाको भवनमा हुन सकेन । सामाजिक दूरी कायम गर्दै बैठक न्युरोडस्थित सभागृहको हलमा सञ्चालन गरिएको हो ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा तीन तहकै सरकारको समन्वय रहेको दाबी गरे । संघीयतामा प्रदेश सरकार चाहिँदैन भनेर विरोध भए पनि संकटका बेला प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।

उनले विश्व संकटमा पर्दा नेपालमा पनि प्रभाव परेको बताउँदै संघीय सरकार एक्लैले यो संकटको सामना गर्न नसक्ने जिकिर गरे । ‘हामीसँग अझै पनि केन्द्रीय मानसिकता छ,’ उनले भने,‘प्रदेश सरकारको काम नदेख्नेलाई अहिले कोभिड–१९ ले सरकारको महत्त्व बुझाइदिएको छ । के संघ एक्लै कोरोनाविरुद्ध लड्न सक्थ्यो त ? कोरोना भाइरसविरुद्ध लड्नका लागि प्रदेश सरकारले ठूलो भूमिका निभाएको छ ।’

उनले कोरोना भाइरस परीक्षणका लागि किट तथा अन्य सामग्री उपलब्ध गराउन नसक्ने संघीय सरकारले संकटविरुद्ध एक्लै लड्न सक्थ्यो भनेर भन्न नसकिने बताए । प्रदेशमा उपलब्ध स्वास्थ्य सेवा र संस्थाका बारेमा कोरोनाका कारण नजिकबाट बुझ्ने अवसर मिलेको बताउँदै उनले यस क्षेत्रमा ठूलो सुधार गर्नुपर्ने औंल्याए ।

उनका अनुसार हाल निर्माणाधीन संरचना संक्रमणको त्रास हटेपछि भविष्यमा पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गर्न लागिएको छ । दीर्घकालीन रूपमा टिकाउ हुने गरी प्रदेश सरकारले जिल्ला अस्पतालहरूको स्तरोन्नति, प्रत्येक अस्पतालमा आइसोलेसन बेड, आईसीयूलगायतको व्यवस्था अनिवार्य गर्न लगाइएको उनको भनाइ छ ।

राहत कोषमा १८ करोड

प्रदेश सरकारले कोरोना भाइरसविरुद्ध लड्न १५ करोडको राहत कोष स्थापना गरेकामा हालसम्म ३ करोड ६ लाख रुपैयाँ थप सहयोग मिलेको छ । कोरोना भाइरसका कारण अर्थतन्त्र घट्दो रहेको बताउँदै मुख्यमन्त्री गुरुङले गण्डकीमा दैनिक ३८ करोड घाटा रहेको र विप्रेषण पनि ३८ करोड नै घाटामा रहेको जनाए ।

लडकाउन भइरहे अर्थतन्त्र शून्यमा जान्छ भनेर विकास निर्माणका कार्य, उद्योग कलकारखाना सुचारु गरिएको उनको भनाइ छ । अर्थतन्त्रमा भएको नोक्सानलाई नीति तथा कार्यक्रममा राखेर आगामी वर्षको बजेट ल्याइने उनले बताए । मुख्यमन्त्री गुरुङले संघीय सरकारले नयाँ नक्सा जारी गरेको कदम स्वागतयोग्य भएको धारणा राखे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले कोरोना भाइरसले सबै नेपालीलाई हातेमालो गरेर अघि बढ्न सकिन्छ भन्ने सन्देश दिएको बताए । लकडाउन बाध्यता रहेको र श्रमिक समस्यामा रहेकाले पहिला उनीहरूको उद्धार गर्नुपर्ने बताउँदै नेपालीले भने, ‘जनता रहे विकास फेरि पनि गर्न सकिन्छ ।’ उनले प्रदेशका नाका त्रिवेणी, राम्दी र आबुँखैरेनीमा अझै पनि कडाइ गर्नुपर्ने सुझाए ।

प्रकाशित : जेष्ठ ११, २०७७ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?