१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नगरप्रमुखकै नेतृत्वमा खेतान समूहको जग्गा कब्जा

नारायण शर्मा

पूर्वी नवलपरासी — गैंडाकोट नगरपालिकाका प्रमुख छत्र पौडेलको नेतृत्वमा खेतान समूहको ३८ बिघा जग्गा कब्जा गरिएको छ । खेतान समूहले बागवानी फार्म दर्ता गरेर २९ वर्षअघिदेखि आँप र लिची फार्म बनाएको जग्गा स्वीकृतिबिनै नगरपालिकाले खेती गर्न कब्जामा लिएको हो ।

नगरप्रमुखकै नेतृत्वमा खेतान समूहको जग्गा कब्जा

उक्त जग्गामा आँप, लिची र कटहरका बोट छन् । मंगलबार बिहान गैंडाकोट–१७ स्थित अमरज्योति स्कुलमा गरिएको भेलाले स्थानीय सुरज रेग्मीको संयोजकत्वमा जग्गा प्रयोग गर्न समिति नै बनाइएको हो । त्यसै वडाको गिद्धिनी पोस्टनजिक उक्त जग्गा रहेको छ । उक्त भेलामा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यलगायत उपस्थित थिए । रेग्मीले आफ्नो संयोजकत्वमा सात सदस्यीय समिति बनेको जानकारी दिए । ‘भोलि (बुधबार) माटो विशेषज्ञ ल्याएर देखाउँछौं, के खेती गर्दा उपयुक्त हुन्छ त्यही सुरु गरिन्छ,’ उनले भने ।

सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष तथा स्थानीय ठाकुरप्रसाद पाण्डेले व्यक्तिगत सम्पत्ति जग्गाधनीको सहमतिबिना कब्जा गर्न वा खेती गर्न नहुने भन्दै फरक मत राखेका थिए । ‘व्यक्तिको जग्गा उसको सहमतिबिना अन्य कसैले प्रयोग गर्नु कानुनविपरीत हुन्छ,’ उनले भने, ‘खेतान समूहको सहमतिबिना उसको बागवानी फार्म कसरी प्रयोग गर्न मिल्छ ?’

नगरप्रमुख पौडेलले व्यक्तिको जग्गा भए पनि आफ्नो नगरपालिकाभित्र रहेकाले खेती गर्न खेतान समूहको स्वीकृति नचाहिने दाबी गरे । ‘समिति बनाएर दन्काइदिएँ, अब खेती गर्न सुरु हुन्छ,’ उनले भने ।

संस्थापक मोहन गोपाल खेतानले २०४५ सालमा उक्त जग्गा किनेर कृषि फार्म सुरु गरेका हुन् । त्यहाँ हिमालयन एग्रो फार्मका नामबाट फलफूलका बिरुवा रोपिएको छ । गत वर्ष पनि नगरप्रमुखकै नेतृत्वमा उक्त जग्गा कब्जा गरेर व्यक्तिलाई बाँड्ने काम भएकोमा प्रहरीले हस्तक्षेप गरेर रोकेको थियो । त्यहाँ जग्गा फडानी र आगो लगाइदिएपछि प्रहरी पुगेपछि त्यतिबेला उक्त क्षेत्र हडप्ने प्रयास विफल भएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?