१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मजदुरलाई राहतको सट्टा रोजगार

सम्झना रसाइली

तनहुँ — जिल्लाको बन्दीपुर गाउँपालिकाले मजदुरलाई राहतको सट्टा रोजगार दिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण प्रभावित बनेका मजदुरलाई गाउँपालिकाले राहतको सट्टा काममा खटाएको हो ।

मजदुरलाई राहतको सट्टा रोजगार

बन्दीपुरमा साहसिक पर्यटकलाई आकर्षित गर्नका लागि निर्माण गर्न लागिएको मुकुन्देश्रवरी–रामकोट साइकल लेनका लागि स्थानीय मजदुरहरुलाई काम दिइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सरनसिं गुरुङले बताए । ‘गाउँपालिकाले सोमबारमात्र बन्दीपुर २ र ३ वडाका २६ जनालाई ५ किलोमिटरको साइकललेन निर्माण कार्यमा खटाएको छ’, उनले भने, ‘सूचीकृत बेरोजगार संख्याको आधारमा उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काममा खटाइएको हो ।’

६ लाख ५० हजार रुपैयाँको बजेट रहेको उक्त लेन निर्माणमा खटिएका मजदुरलाई प्रतिदिन ७ सय रुपैयाँको दरमा पारिश्रमिक प्रदान गरिने उनले बताए । यसरी गाउँपालिकाले राहतको सट्टामा रोजगार प्रदान गर्दा गाउँवासीहरु खुसी भएको संयोजक गुरुङ बताउँछन् । यस्तै, दुई पटक राहत लिएका बन्दीपुर–३ रामकोटका खिमबहादुर थापा राहतभन्दा काम नै बेस भनेर साइकल लेन निर्माण कार्यमा खटिएका छन् । उनले भने, ‘गाउँपालिकाले राहत त दिएको थियो नि तर के गर्नु ८ जनाको परिवार छ, पाएको थोरै राहतले कति दिन नै पुर्‍याउनु र ? हामी काम गरेर बिहान बेलुकाको छाक टार्नेलाई त राहत भन्दा काम नै ठिक छ ।’

लकडाउन भएसँगै काम नपाउँदा निरास भएकी बन्दीपुर–३ रामकोटकी दिलमाया राना गाउँपालिकाले नै रोगजार दिँदा खुसी लागेको बताउँछिन् । ‘गाउँपालिकाले राहतको सट्टा काम गर्ने ठाउँ दियो, म यसैमा खुसी छु’, उनले भनिन्, ‘दुई चोटी थापेको राहतले ५ जनाको परिवारलाई १० दिन पनि पुग्दैन कति राहतमात्र थाप्नु । बरु काम गरेर आफ्नै कमाई खानु ठीक लाग्छ ।’ यसरी राहतले २/४ छाकमात्र टार्न सहज भएको अवस्थामा काम नै पाइएपछि अभावको समस्या हटेको उनीहरु बताउँछन् ।

यस्तै, गाउँपालिकले श्रममा आधारित राहत कार्यक्रमअन्तर्गत बन्दीपुरदेखि छिम्केश्वरी डाँडासम्म पुग्ने साइकललेन पनि निर्माण गर्ने भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने, ‘करिब ६ लाख रुपैयाँ बराबरको योजना हो । यसमा साइकललेन निर्माण सँगसँगै लेन वरपर फलफूलका बोटबिरुवा निर्माणका काम पनि गरिनेछ ।’

‘गाउँपालिकाले २ चरण राहत प्रदान गर्‍यो र विभिन्न संघसंस्थाको सहयोगमा अतिआवश्यक परिवार पहिचान गरी धेरै पटक नै राहत बाँडियो’ उनले भने, ‘तर सधैं राहत दिएरमात्र नहुने रहेछ । अहिले गाउँपालिकाले राहतको सट्टा कामको अभियान चलाएपछि सबै खुसी हुनुहुन्छ ।’ उनका अनुसार गाउँपालिकाले श्रममा आधारित राहत कार्यक्रमअन्तर्गत ६ वटै वडामा प्रतिवडा १/१ लाख छुट्टाइएको छ ।

विश्वभर फैलिएको कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी उच्च सतर्कताका साथ मजदुरहरुलाई काममा खटाइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?