कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बागलुङमा डेंगु संक्रमण देखियो

प्रकाश बराल

बागलुङ — गर्मीयाम लागेसँगै जिल्लाकी एक महिलामा डेंगु संक्रमण देखिएको छ । शुक्रबार धौलागिरि अञ्चल अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु पुष्टि भएको हो ।

बागलुङमा डेंगु संक्रमण देखियो

उच्च ज्वरो, रुघाखोकीसमेतको लक्षण देखिएकी उनलाई पोखराबाट किट झिकाएर परीक्षण गरिएको थियो । २३ वर्षीया ती महिला जैमिनी नगरपालिका–८ छिस्तीकी हुन् । उनी अहिले बागलुङमै उपचार गराइरहेकी छिन् ।

गत वर्ष पनि बागलुङमा ४ जना डेंगु संक्रमित भेटिएका थिए । यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आमनागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । संक्रमणको जोखिम बढेपछि जिल्लाका १० वटै पालिकाले नियन्त्रण तयारी थालेका छन् ।

स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिम दिएको छ । लक्षण देखिएमा तत्काल परीक्षण गराउन भन्दै पालिकालाई पत्राचार गरिएको कार्यालय प्रमुख सुरज गुरौले बताए । ‘सबै पालिका र धौलागिरि अञ्चल अस्पतालमा पुग्ने गरी परीक्षण किट पनि मगाएका छौं,’ उनले भने, ‘प्रदेश मन्त्रालयले किट उपलब्ध गराउने आश्वासन दिइसकेको छ ।’ रगत जाँचपछि मात्र डेंगु पत्ता लगाउन सकिने उनले बताए ।

‘धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेंगुको लक्षण हुन्,’ धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुन सक्छ ।’ लामखुट्टेको टोइकाबाट बच्न उनले सुझाव दिए । अस्पतालमा डेंगुका बिरामी उपचार गर्न र रगत परीक्षणका लागि ल्याब शाखालाई तयारी बनाइएको पोखरेलले बताए ।

पालिकाहरूले पनि स्वास्थ्यशाखालाई सक्रिय बनाएर सरसफाइमा लगानी बढाएको बताएका छन् । ‘पानी जम्ने खाल्डाखुल्डी पुर्ने र धेरै लामखुट्टे बस्ने ठाउँमा धूवाँ लगाएर धपाउने काम गरेका छौं,’ बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘परीक्षणका लागि चाहिने किट पनि समयमै उपलब्ध गराउन भनेका छौं ।’

छिमेकी म्याग्दीमा नौ जना डेंगुका बिरामी भेटिएपछि बागलुङमा चासो र चिन्ता बढेको हो । किट भए जिल्ला र पालिका तहमा पनि परीक्षण गर्न सकिने र यसो गर्दा छिटो पत्ता लाग्ने गुरौले बताए ।

बागलुङ नगरस्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालका अनुसार ग्यारेज, पोखरीलगायत सफा राख्न र घरघरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको छ । ‘सफा पानीमा लामखुट्टेले फूल पार्छ । डेंगु लामखुट्टेकै टोकाइबाट सर्ने भएकोले झुल टाँगेर सुत्नुपर्छ,’ खनालले भने, ‘एकपटक संक्रमण भएपछि दोहोरिने दर बढी भएकोले पहिल्यै सचेत बन्नुपर्छ ।’

प्रहरी, सेना र प्रशासनले पनि बसपार्क र ग्यारेज क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टायर हटाउने र पानी नजम्ने गरी व्यवस्थापन गर्न आग्रह गरेका छन् । ‘लकडाउनका कारण दुई महिनादेखि अधिकांश स्थानका टायर अलपत्रै छन्, त्यस्ता स्थानमा प्रहरी परिचालन गरेर हटाउन लगाएका छौं,’ प्रहरी निरीक्षक हेम केसीले भने, ‘कतिपय खाडल पुर्ने काममा पनि खटिनुपरेको छ ।’

प्रकाशित : जेष्ठ ३, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?