२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

तनहुँ भित्रने नाकाहरुमा कडाई

सम्झना रसाइली

तनहुँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनगर गर्दै जिल्ला भित्रने चारवटै नाकाहरुमा कडाई गरिएको छ । संक्रमण रोक्न गरिएको लकडाउनमा जिल्ला बाहिराबाट आयात गरिने खाद्यान्न वस्तुमा कडाई गरिएको हो ।

भारत लगायत छिमेकी जिल्लाबाट आयात गरिने खाद्यान्न, तरकारी लगायतका वस्तु जिल्ला प्रवेश गराउँदा उच्च निगरानी गर्ने भनिए पनि व्यवसायीहरुले रातिको समयमा लुकिछिपी ल्याउने गरेको भेटिएपछि जिल्ला प्रवेश नाकामा थप कडाई गरिएको हो । कोरोना भाइरस संक्रमण फैलिएका जिल्ला तथा भारतबाट समेत खाद्यान्न तथा फलफूल, तरकारी रातिको समयमा जिल्ला भित्र्याइएको गुनासो बढेसँगै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले राति अनुगमन गर्दा प्रतिबन्धित क्षेत्रबाट खाद्यान्न आयात गरिएका सवारी साधान भेटाएको संघका सभापति राजकुमार श्रेष्ठ (राकु)ले बताए ।

उनले भने, ‘व्यास नगरपालिकाको दमौली बजार क्षेत्रमा बुधबार राति नगर प्रहरी र दमौली बजार इकाईका पदाधिकारीहरुले गरेको अनुगमनका क्रममा प्रतिबन्धित क्षेत्रबाट आयात गरिएका तरकारी, मदिरा, खरबुजा, कस्मेटिक सामग्रीजस्ता वस्तु बोकेका ९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ ।’

रातिको समयमा लुकाईछिपाई ल्याइएका मदिरा, प्रतिबन्धित क्षेत्रबाट आयात गरिएका तरकारी, फलफूल, कस्मेटिक सामग्रीहरु बोकेका सवारी साधनलाई पुन: जहाँबाट ल्याइएको हो त्यहीं लैजाने गरी जिल्ला प्रहरीको स्कर्टिङमा मुग्लिनको पुल (जिल्ला बाहिर) कटाइएको संघका सभापति श्रेष्ठले बताए । प्रतिबन्धित क्षेत्रबाट तरकारी, मदिरा, फलफूल लगायतका सामग्री बोकेका सवारी चालकहरुले भने जिल्ला प्रवेश गर्ने कुनै पनि नाकामा प्रहरीले जाँच नगरेको बताउँछन् । ‘हामीलाई जिल्लाभित्र यसरी सामान ल्याउन प्रतिबन्ध गरिएको छ भन्ने थाहा नै थिएन’, खरबुजा बोक्ने सवारी चालक तीलक मोक्तानले भने, ‘जिल्ला प्रवेश गर्दा कुनै पनि नाकामा हाम्रो सवारी साधान र सामानहरुको चेकजाँच भएन ।’

यस्तै, संक्रमित क्षेत्रबाट आयात गरिएको र उत्पादन कहाँ भएको भन्ने नखुलेका वस्तुहरुलाई नियन्त्रणमा लिई पुन: जिल्ला बाहिर फर्काइएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘पृथ्वी राजमार्ग भएर गण्डकी प्रदेश प्रवेश गर्ने नाका तनहुँ भएको र यो राजमार्ग हुँदै पोखरा, बागलुङ लगायतका जिल्लामा अत्यावश्यक खाद्यवस्तु आयात तथा निर्यात हुने गरेको थियो तर तनहुँमै यसरी बिक्री वितरण गरिएको छ भन्ने जनगुनासो आउन थालेपछि अनुगमन गरी थप कडाई गरिएको हो ।’

हालसम्म जिल्ला कोभिड–१९ को संक्रमणबाट सुरक्षित भए तापनि जिल्लावासीहरु अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाट बाहिर ननिस्कन र थप सतर्कता अपनाउनुपर्ने जिल्ला प्रमुख अधिकारी बद्रीनाथ अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ १, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?