१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बालिका बलात्कार प्रयासको आरोपमा पक्राउ

दीपक परियार

पोखरा — १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने एक व्यक्ति कास्कीमा पक्राउ परेका छन् । मादी गाउँपालिका–८ नागीधारका ६० वर्षीय खुसबहादुर गुरुङ बिहीबार पक्राउ परेका हुन् । गत वैशाख २ मा बालिकाको घरमा कोही नभएको मौकामा गुरुङले बलात्कार प्रयास गरेको बालिकाको आफन्तले दिएको उजुरीमा उल्लेख छ । 

बालिका बलात्कार प्रयासको आरोपमा पक्राउ

घटना भएको केही दिनपछि मात्रै गुरुङले आफूलाई बलात्कार प्रयास गरेको बालिकाले गाउँमै रहेकी शिक्षिकासँग बताएकी थिइन् । बलात्कार प्रयास गर्दागर्दै अर्को व्यक्तिले देखेपछि गुरुङले मकै छोडाउन गएको बहाना बनाएका थिए । घटनाबारे कसैलाई भने आफूलाई मार्ने धम्की दिएको बालिकाले अभिभावकसँग बताएकी थिइन् ।

घटनालाई गाउँमै मिलाउन पटक-पटक दबाव दिइएको बालिकाका अभिभावक बताउँछन् । उनीहरुका अनुसार वैशाख २४ मा कांग्रेसका कास्की जिल्ला सदस्य ओमप्रकाश गुरुङको नेतृत्वमा स्थानीय कांग्रेस निकट ५–६ जना कार्यकर्ता पुगेर घटना बाहिर नलैजान धम्की दिएका थिए ।

डरधम्की देखाएपछि बालिकाको परिवार नै विस्थापित भएर पोखरा आइपुगेको छ । ९ महिनाको छोरासहित बालिकाका बुबा र आमा पोखरामा छन् । पोखरा आएर उनीहरुले प्रहरीमा उजुरी दिएका हुन् । घटनाबारे जानकारी पाएपछि विदेशमा रहेका स्थानीयले उनीहरुको खाने, बस्ने खर्च व्यहोरेका छन् । बालिकाका एक छिमेकीले डेभिड भनेर चिनिने खुसबहादुर गुरुङ यौनको मामिलामा पहिलेदेखि नै कमजोर भएको बताए । ‘गाउँमा एकल महिला र अपांगता भएकी महिलामाथि यौन दुर्व्यवहार गरेको घटनामा उनी मुछिएका थिए,’ उनले भने, ‘आफूले चलाउने गरेको किराना पसलमा आएका महिलामाथि पनि यौन दुर्व्यवहार गर्थे ।’

गुरुङलाई बिहीबार नै प्रक्रिया पूरा गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने प्रहरी निरीक्षक नरहरि अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ १, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?