१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गोरखामा उच्च सतर्कता, बैंक तथा वित्तीय संस्था बन्द

हरिराम उप्रेती

गोरखा — कोरोना भाइरस (कोभिड–१९) को संक्रमित लगातार बढेपछि गोरखामा उच्च सतर्कता अपनाइएको छ । जेठ १ देखि ५ गतेसम्म अत्यावश्यक कामबाहेक जिल्ला भित्रन र बाहिरन नपाइने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

‘जुन ठाउँबाट निर्माण तथा खाद्य सामग्री गोरखा भित्राइन्छ, ती जिल्लामा अत्याधिक संक्रमण देखियो,’ प्रजिअ पौडेलले भने,‘सामग्री ल्याउँदा चालक, सहचालक पनि आउँछन्, निर्माण सामग्रीमा पनि संक्रमण भित्रन सक्ने भयो, आम जनताको चाहनाबमोजिम उच्च सतर्कताका लागि आउजाउ बन्द गरेका हौं ।’

रिफर भएका बिरामी बोकेको एम्बुलेन्स, तत्काल उपचार आवश्यक परेका बिरामी सवारी गाडी, वडाध्यक्ष वा सो भन्दा माथिका जनप्रतिनिधिका सवारी साधनबाहेकलाई जिल्ला बाहिर जान रोक लगाइएको प्रजिअ पौडेलले बताए । ‘जिल्लाभित्र हुने खाद्यान्न, निर्माण सामग्री लगायत यसभन्दा अघिल्ला बैठकका निर्णय अनुसारको सामग्री ढुवानी पनि हुँदैन,’उनले भने ।

बैंक तथा वित्तीय संस्था, विमा एवं सहकारीहरुको सेवाप्रवाह तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको उनले बताए । प्रशासनको निर्णयअनुसार खाद्यान्न, तरकारी, पशुपंक्षीका दाना, औषधि, उपकरण तथा माछामासुकाबाहेक सबै पसल ५ गतेसम्म बन्द हुनेछन् । अर्को जिल्ला जान यसअघि जारी गरिएको इ–पास लगायतका सम्पूर्ण सवारी पास पनि खारेज गरेको उनले बताए ।


प्रकाशित : वैशाख ३१, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?