७ दिनका लागि गलकोट नगरपालिका सिल

प्रकाश बराल

बागलुङ — मंगलबार बारा जिल्लाको छिपहरमाई गाउँपालिकामा भेटिएका १४ जना कोरोना संक्रमितहरु बगलुङबाट गएको थाहा भएपछि गलकोट नगरपालिकाले सीमा सिल गरेको छ ।

७ दिनका लागि गलकोट नगरपालिका सिल

वैशाख ११ गते बस रिर्जभ गरेर गलकोटदेखि गएका उनीहरु क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमै उनीहरुको कोरोना परीक्षणपछि पोजिटिभ देखिएको हो । गलकोट नगरपालिकाको बुधबार बिहान बसेको आकस्मिक बैठकले सात दिनका लागि नगरपालिकाका सिमाना सिल गर्ने, सुत्केरी तथा अन्य बिरामीलाई मात्र आवतजावत गर्न दिने र परीक्षण गर्ने निर्णय गरेको वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए ।

संक्रमण भए नभएको पुष्टि गर्न साता दिनका लागि गलकोट क्षेत्रमा कसैलाई घरबाट बाहिर निस्कन नदिने निर्णय भएको हो । थालिएका सबै प्रकारका विकास निर्माणका काम पनि रोक्ने, बैंक तथा अन्य कार्यालयका काम पनि ठप्प पारेर परीक्षणका लागि मात्र समय मिलाउने तयारी थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

त्यसका लागि नगरपालिकाले सुरक्षा निकाय र स्वास्थ्यकर्मीको संयुक्त सहयोग मागेको छ । मजदुरहरु बसेका घरका मानिस लगायत सबैको स्वाब परीक्षणपछि मात्र शिल गरिएका नाका खोल्ने उनले बताए ।

घर फर्केका मजदुरहरु वैशाख ११ गते बेलुकी गलकोटबाट हिँडेपनि पोखरामा १२ गते दिनभर रोकिएका थिए । कास्की प्रहरीले रोकेपछि मुख्यमन्त्रीको सल्लाहमा आफ्नो जिल्लामा पुगेर क्वारेन्टाइनमा बस्ने सर्तमा छाडिएको थियो । उनीहरुलाई पोखरादेखि गाउँपालिका अध्यक्षलाई पनि सूचना दिएर मात्र पठाइएको थियो । वैशाख १३ गते घरमा नपुग्दै उनीहरु क्वारेन्टाइन गएका थिए । छिपरमाइ गाउँपालिकाले १४ जना सहित धोबिनीका २ र भारतीय १ जनालाईपनि क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा ६२ जना भन्दा धेरै रहेको र अन्यमा पनि संक्रमण देखिएकोले कहाँबाट सरेको हो भन्ने परीक्षणपछि मात्र थाहा हुने भण्डारीले बताए । ‘हामीले उनीहरुको सम्पर्कमा रहेका, उनीहरुलाई पुर्‍याउन गएका बस चालक समेतको कन्ट्याक सेटिङ गरिसकेका छौं, उनीहरुले काम गर्ने फर्मका संचालक र अन्य कर्मचारीलाई पनि स्वाव परीक्षण गराइदिन स्वास्थ्य कार्यालय र प्रशासनमा माग गरेका छौं,’ भण्डारीले भने,‘हामी सचेत छौं तर उनीहरु फर्केपछि संक्रमणको जोखिममा परेकी भन्ने पनि लागेको छ ।’

चैत दोस्रो साता भेटिएका बागलुङका दुइ संक्रमितहरु सदरमुकाम आसपासका थिए । उनीहरु पनि उपचारपछि निको भएर घर फर्केका छन् । गलकोटमा अहिलेसम्म अन्य संक्रमित भेटिएका छैनन् । गलकोटमा भारतबाट लकडाउन अघि आएका ९२ जना र अन्य मुलुकबाट आएका ३६ गरी १ सय २८ को आरडिटी परीक्षण समेत भएको थियो । सबैको नेगेटिभ आएकोले अन्य संक्रमित नभेटिएको गैरेले बताए । गलकोटबाट बस रिजर्भमा गएका मजदुरहरु बागलुङमा नझरी सोझै पोखरा पुगेकोले संक्रमणको खतरा कम हुने उनले बताए ।

यसैबीच भारतको दिल्लीबाट लुकीछिपी आएका काठेखोला गाउँपालिका ५ का दम्पत्तिलाई स्थानीयले क्वारेन्टाइनमा राखेका छन् । श्रीमतीको उपचारका लागि तीन महिना अघि दिल्ली गएका उनीहरु साता अघि गाउँ फर्केको थाहा पाएपछि स्थानीयले क्वारेन्टाइन लगेका हुन् । स्वास्थ्य कार्यालयले उनीहरुको परीक्षणका लागि स्वाब संकलन गरिसकेको छ ।

प्रकाशित : वैशाख ३१, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?