गण्डकीमा कोरोनाको जोखिम कायमै
पोखरा — चैतको दोस्रो र तेस्रो साता बागलुङमा दुई जनामा कोरोना संक्रमण देखियो । विदेशबाट फर्किएका १९ र ६५ वर्षका महिलामा कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेश एकाएक ‘रेड जोन’ मा पर्यो । धौलागिरि अस्पताल बागलुङमा उपचारपछि उनीहरू निको भएर घर फर्किए ।
कतार एयरवेजको जहाजमा सँगै आएका प्रदेशका अन्यमा कोरोना संक्रमण देखिएन । संक्रमित पनि निको भएपछि प्रदेश अहिले ‘ग्रिन जोन’ मा छ । गण्डकी प्रदेश सरकार र कास्कीलगायत जिल्ला प्रशासनले लकडाउनलाई खुकुलो बनाएका छन् । बजारमा चहलपहल बढेको छ । उद्योगधन्दा, कलकारखाना चल्न थालेका छन् । कार्यालयहरू पनि खुल्न थालेका छन् । अहिले गण्डकीमा कोरोनाको कुनै संक्रमण देखिएको छैन । अब पनि संक्रमण नहुने जस्तो गरी विशेष गरी पोखरामा चहलपहल बढेको छ ।
सरोकारवालाले भने गण्डकी पनि खतरामा रहेको औंल्याएका छन् । भारतलगायत देशकै अन्य जिल्लाबाट पनि मानिसहरू प्रदेशमा भित्रिइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।
‘उनीहरूको ट्रेसिङ भएको छैन’ प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले भने, ‘को आयो, कहाँबाट आयो भन्ने सबै रेकर्ड राखेर सचेतना अपनाउनुपर्छ । नभए खतरा बढ्दो छ ।’ कोरोनाको पीसीआर जाँच पनि उल्लेख्य मात्रामा भएको छैन । खाद्यान्नलगायत बोकेर ल्याएका ट्रकहरूमा लुकीछिपी र कतिपय पैदलै पनि प्रदेश भित्रिइरहेका छन् । उनीहरूको खोजीनीतिमा खासै ध्यान दिएको देखिंदैन ।
गण्डकी भित्रिने दर्जनभन्दा बढी नाका छन् । त्यसमा भारतसँग जोडिएको एक मात्र त्रिवेणी छोटी भन्सारलगायत ३ र ५ नम्बर प्रदेशबाट भित्रिने १० नाका बढी संवेदनशील भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए । ‘नाकाहरूबाट लुकीछिपी आएका छन्,’ शर्माले भने, ‘नाकामा कडाइ गरेर प्रदेशभित्र खुकुलो बनाउनुपर्छ । तर दुवैतिर खुकुलो भएमा कुनै पनि बेला कोरोनाको डढेलो लाग्न सक्छ ।’ उनले तराईका जिल्लाहरूमा कोरोना संक्रमणको संख्या बढ्दै जाँदा गण्डकीमा पनि उच्च सतर्कता अपनाउनुपर्ने बताए ।
प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले भावनामा बग्ने कुरा र वास्तविकता फरक भएको भन्दै सीमा सिल गर्नैपर्ने अवस्था रहेको बताइन् । आफू पूर्वी नवलपरासीलगायत जिल्ला भ्रमणमा जाँदा मानिसहरू भित्रिइरहेको थाहा पाएको उनको भनाइ थियो । अहिले सवारी नम्बर र चालकको नाममात्रै रेकर्ड रहेकामा अबदेखि कुन साधनमा को को आए भन्ने रेकर्ड राख्ने तयारी भइरहेको उनले बताइन् ।
भारतलगायत विभिन्न जिल्लाबाट आएका २० जनालाई पोखरा महानगरले क्वारेन्टाइनमा राखेको छ । नाकाहरूमा कडाइ नहुँदा उनीहरू सहजै पोखरा आएको पोखरा महानगरका एक कर्मचारीले बताए । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीले नाकामा जाँचलाई कडाइ गरिएको दाबी गरे ।
प्रशासनबाट पास लिएर अत्यावश्यक सेवाका सवारीसाधन आउने गरेको उनको भनाइ थियो । ‘कोही लुकीछिपी आए होलान्, सबै ठाउँमा प्रहरी पुग्न सक्दैन,’ उनले भने, ‘भारतसँगको सीमा त्रिवेणी, ५ नम्बर प्रदेशसँगको राम्दी र वाग्मतीसँगको आँबुखैरेनीमा कडाइ गरेका छौं ।’ केही विकास निर्माणका आयोजनामा संक्रमितबाहेक जिल्लाबाट कामदार आउन थालेको प्रहरीले जनाएको छ ।
प्रकाशित : वैशाख २९, २०७७ १९:२३