१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गलत डिजाइनले खानेपानी आयोजना जोखिममा

बागलुङ नगरबासीलाई पानी खुवाउन तीन वर्षअघि थालिएको ४५ करोडको आयोजनामा सकिनुपर्ने बेला बल्ल ४० प्रतिशत काम
प्रकाश बराल

बागलुङ — डीपीआर बनाउँदा रिजर्भ ट्यांकीलगायत संरचनाको नक्सांकन कमजोर भूगोलमा गरिएकाले बागलुङ नगर खानेपानी आयोजना जोखिममा परेको छ । निर्माणाधीन रिजर्भ ट्यांकीलगायत संरचना वर्षभरिमा ३ पटक भत्केपछि समयमा आयोजना सकिने सम्भावना टरेको छ । समयमा काम नभएको र पटकपटक डिजाइन फेर्दा आयोजनाको ४० प्रतिशत काम पनि पूरा भएको छैन ।

४५ करोड लागतमा सदरमुकामवासीलाई लिफ्टिङ प्रविधिको पानी खुवाउने गरी तीन वर्षअघि काम थालिएको थियो । काठेखोलाको कैलमपोखरीमा पाँचवटा स्पर बनाई ५ लाख लिटरको रिजर्भ ट्यांकीबाट रातमाटासम्म लिफ्ट गरेर पानी ल्याउने योजना थियो । मेसिनरी पर्खालसमेत पटकपटक भत्केपछि ट्यांकी धानिने सम्भावना नभएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । ‘कमजोर भूगोल र गलत स्टिमेट भएको रहेछ, अहिले बल्ल बुझिँदै छ,’ उनले भने, ‘अब आयोजनाको डिजाइन फेरेर मात्र काम गर्न सकिएला, नत्र खर्च मात्रै भयो ।’ यसअघि आरसीसी पर्खालको डिजाइन भएकोमा संस्थाले फेरेर मेसिनरी बनाएकाले पनि पहिरो खसेको टिप्पणी हुन थालेको छ ।

कैलमपोखरीमा खनिएका ठूला खाडल र पटकपटकको पर्खाल भत्केपछि नजिकैका दर्जनभन्दा बढी घरसमेत जोखिममा परेका छन् । देउराली चोकका घरछेउको जमिन बग्न सक्ने भन्दै स्थानीय त्रस्त छन् । ‘पटक–पटक भत्केपछि घर पनि बग्न सक्छन्,’ संस्थाका उपाध्यक्ष नीरज शाक्यले भने, ‘प्राविधिकबाट गलत डिजाइन बन्दा उपभोक्ताले समयमा खानेपानी पनि नपाउने भए ।’ आगामी जुलाई १४ मा सक्ने गरी जयमाता कन्काई संयुक्त निर्माण कम्पनीले आयोजना जिम्मा लिएको हो ।

डिजाइन फेर्नु र उचित ठाउँ छनोट गर्न नसक्नु संस्थाको कमजोरी भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘डीपीआर बनाउँदा आफ्नै धरातलमा बनाउनुपर्नेमा नक्कल गर्न खोज्दा पनि समस्या आउँछ,’ उनले भने, ‘नगरवासीलाई शुद्ध खानेपानी खुवाउने काममा साझेदारी गरे पनि निर्माणको काम संस्थाको हो ।’ संघीय सरकारको बजेटमा नगरपालिकाले डेढ करोड थपेर वडा नं. ६ भिरलाकुरीबासीलाई पनि पानी खुवाउने गरी योजना अघि बढाइएको थियो ।

रिठेखोलाबाट आएको पानी व्यवस्थापन गर्ने, काठेखोलाको आयोजना थप गर्ने र रेसबाट आइरहेको पानीसमेत मिलाएपछि प्रतिसेकेन्ड ७० लिटर पानी उपलब्ध गराउने गरी संस्थाले तीन वर्षअघि काम थालेको हो । निर्माणमा कमजोरी भएको भन्दै संस्थाका कोषाध्यक्ष रामप्रसाद शर्माले ४ महिनाअघि नै राजीनामा दिइसकेका छन् ।

२०२२ सालमा १३ वटा धाराबाट बागलुङ नगर खानेपानी उपभोक्ता समिति गठन भएको थियो । समितिले अहिले ४ हजार धारा जडान गरिसकेको छ । हाल यो योजनामा ३ सय ५० धारा थप्ने तयारी थियो । पाइपलाइनबाट ल्याउने आयोजना नभएपछि नगरमा लिफ्ट प्रविधि थालिएको हो ।

प्रकाशित : वैशाख २९, २०७७ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?