थपिएको म्यादमा पनि गोरखा दरबारको पुनर्निर्माण नसकिने

सम्झौताअनुसार काम नभएपछि २०७६ पुस ४ गते पहिलोपटक ६ महिना म्याद थप भएको थियो ।
हरिराम उप्रेती

गोरखा — थपिएको म्यादमा पनि गोरखा दरबारले पूर्णता नपाउने निश्चित भएको छ । भूकम्पले चर्काएपछि पुनर्निर्माण थालिएको दरबारको काम पछिल्लो समय लकडाउनका कारण रोकिएको छ । थपिएको म्याद सकिन एक महिना बाँकी रहँदा समग्रमा ४० प्रतिशत मात्र काम सकिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए ।

थपिएको म्यादमा पनि गोरखा दरबारको पुनर्निर्माण नसकिने

२०७४ कात्तिक २९ गते ठेक्का सम्झौता गर्दा २०७६ मंसिर मसान्तभित्र चारतले गोरखा दरबार बनाउनुपर्ने सम्झौतामा भनिएको छ । तर दुईवर्षे म्याद सकिँदासम्म ठेकेदारले भुइँतलाकै काम सकेनन् । सम्झौताअनुसार काम नभएपछि २०७६ पुस ४ गते पहिलोपटक ६ महिना म्याद थप भएको थियो । थपिएको म्याद आगामी जेठ मसान्तमा सकिँदै छ । म्याद सकिन एक महिना बाँकी रहँदा पहिलो तलाबाहेकको काम हुन सकेको छैन । अहिले लकडाउन भए पनि यसअघि ठेकेदारको ढिलासुस्तीका कारण दरबारले पूर्णता पाउन नसकेको सरोकारवाला बताउँछन् ।

पछिल्लो समय कोरोना संक्रमणको सम्भावित जोखिमलाई ख्याल गरेर चैत ७ गते बाट कामदारलाई फिर्ता पठाइएको भुसालले बताए ।

हाल मूल ढोकासहित भुइँतलामा चार ढोका र झ्याल राख्ने काम सकिएको छ । ‘पहिलो तलाको अँगेना र सुत्केरी कोठा तथा दलिनको काम हुँदै थियो, कामदारलाई फिर्ता पठाउनुपर्‍यो,’ उनले भने, ‘एक महिना काम हुन सकेन, अहिले सरकारले निर्माणको काम गर्न दिने भनेपछि हामीले निर्माण कम्पनी र विभागसँग छलफल अघि बढाएका छौं ।’

१९९० सालको भूकम्पले हल्लाएको दरबारलाई २०७२ को भूकम्पले थप क्षति पुर्‍याएको थियो । पुनर्निर्माण थालिएपछि दरबारभित्र रहेका पृथ्वीनारायण शाहले प्रयोग गरेको राजगद्दीलगायत ऐतिहासिक सामग्री सुरक्षित राखिएको छ । शाहवंशीय राजा राम शाहदेखि पृथ्वीनारायणसम्मले राज्य गरेको ऐतिहासिक दरबार पुरानै स्वरुपमा पुनर्निर्माण गर्न लागिएको हो ।

भुइँतलामा सुत्केरी (कोटले) कन्या, गद्दी र धुनी कोठा रहनेछ । भण्डार, कोट भण्डार, भाँडाकुडा राख्ने कक्ष, निसान र पूजा सामग्री राख्ने कोठा दोस्रो तलामा बन्नेछ । तेस्रो तला राजपरिवारको किचन रहेको ठाउँको रुपमा परिचित छ । तेस्रो तलाका बाँकी ठाउँका किचनका सामग्री राखनधरन गर्ने गरिन्थ्यो । कटुवाल र टपरी लगाउने कोठा तेस्रो तलामा रहनेछ भने चौथो तलामा उत्तरतर्फ कैलाश कोठा रहनेछ ।

४ करोड ३७ लाखको लागतमा दरबार पुनर्निर्माणको जिम्मा पचली सिवाको जेभी कन्ट्रक्सनले पाएको छ । गोरखा दरबारले पूर्णता नपाउँदा रंगमहल, शीतलपाटी र कालिका मन्दिर पुनर्निर्माण पनि अन्योलमा परेको छ ।

प्रकाशित : वैशाख २८, २०७७ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?