२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

लमजुङ सामुदायिक अस्पतालमा खुट्टाले हात धुने प्रविधि

आश गुरुङ

लमजुङ — बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा खुट्टाकाे सहयाेगमा हात धुन मिल्ने प्रविधि सञ्चालनमा ल्याइएको छ । 

लमजुङ सामुदायिक अस्पतालमा खुट्टाले हात धुने प्रविधि

कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिमलाई मध्यनगर गर्दै लमजुङका इन्जिनियरले ‘अटोमेटिक फुट अपरेटेड ह्याण्ड वासिङ’ ट्यांकी अस्पतालमा राखेको हो । प्रगतिशील इन्जिनियरिङ एसोसियसन नेपाल (पिन) लमजुङ र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) गण्डकी प्रदेशले अस्पतालको गेटमा फलामबाट निर्माण गरेको खुट्टाद्वारा खुल्ने धारा र त्यसमाथि ट्यांकी जडान गरेर अस्पताल आउनेका लागि हात धुने व्यवस्था मिलाएको छ ।

इन्जिनियरिङ एसोसियसन लमजुङका अध्यक्ष मदन शर्माका अनुसार २५ जना इन्जिनियरको प्रत्यक्ष संलग्नतामा निर्मित उक्त सामग्रीको गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीले शुक्रबार सुरुवात गरे । सरसफाइ रहन भित्रिएको नयाँ प्रविधिले कोरोना संक्रमण न्यूनिकरणमा टेवा पुग्ने उनले दाबी गरे । जिल्लामा पहिलोपटक भित्रिएको यो प्रविधिका लागि २५ हजार रुपैयाँ खर्च भएको अध्यक्ष शर्माले बताए । ट्यांकीमा ५ सय लिटर पानी अट्छ ।

बायाँ खुट्टाले थिचेपछि ह्याण्डवास हातमा निकाल्न मिल्ने र ह्याण्डवासले मिचिमिची हात धोएपछि दायाँ खुट्टले थिचेपछि ट्यांकीको पानी धारामार्फत खस्ने भएकाले हात धुन सजिलो हुने र हातले धारा र ह्याण्डवासमा छुन पनि नपर्ने भएपछि सरुवा रोगबाट जोगिन सकिने उनले बताए । लमजुङ जिल्ला सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न नयाा प्रविधि आवश्यक रहेको बताए । अस्पताल प्रमुख हेमन्त श्रेष्ठले उक्त प्रविधिबाट कोरोना भाइरस संक्रमणको रोकथाममा मद्दत पुगेको बताए ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का, स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडी लगायतले कोरोना भाइरस लगायत सरुवा रोग सर्नबाट जोगिन नयाँ प्रविधिको विकास गर्न जरुरी रहेको बताए । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा १२ बेडको आइसोलेसन बनाइएको छ । उक्त अस्पतालमा फिवर क्लिनिक सञ्चालन गरिएको छ ।

प्रकाशित : वैशाख २७, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?