कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसपालि नाचिएन घाँटु

आश गुरुङ

लमजुङ — यसअघिका हरेक वैशाख पूर्णिमा (चण्डीपूर्णिमा) मा जिल्लाका गुरुङ बस्तीहरूमा घाँटु नाचिन्थ्यो । तर, यसपालि कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण नाचसमेत राेकियाे ।

यसपालि नाचिएन घाँटु

लामो समयदेखि घरमै बसेका स्थानीय घाँटु नाच्न वल्लोपल्लो गाउँ जान सकेनन् । गीत–संगीतको तालमा शरीर मन्द तरिकाले हल्लाई नाचिने कलालाई घाँटु भनिन्छ । लयबद्ध तरिकाले गाइने पौराणिक लवज र भाकाको घाँटु गीत मौलिक गीति काव्य हो । लमजुङका गुरुङ बस्तीमा यो जीवितै छ ।

यस वर्ष घाँटु नाच्न नपाउँदा मर्स्याङ्दी गाउँपालिका–३, सिउरुङकी घाँटुसरी पद्मा घलेले न्यास्रो लागेको बताइन् । ‘पोहोर–परार निकै रमझम हुन्थ्यो । अहिले घरमै बसेको छु,’ उनले भनिन् ।

मर्स्याङदी गाउँ कार्यपालिका सदस्यसमेत रहेकी स्थानीय पारकासी गुरुङका अनुसार १० वर्षे द्वन्द्वले पनि नछेकेको घाँटु अहिले छेकियो । ‘चाहेर पनि घाँटु नचाउन सकिएन,’ उनले भनिन् ।

लमजुङका अलावा कास्की, गोरखा, तनहुँ, स्याङ्जाका गुरुङ बस्तीमा पनि वैशाख पूर्णिमामा घाँटु नाचिन्छ । कोरोना संक्रमण जोखिम र लकडाउनले प्रायः जिल्लामा घाँटुको रौनक नभएको स्थानीय बताउँछन् । कतै–कतै औपचारिकता पूरा गर्न थोरै जम्मा भएर नाचेका छन् । गाउँमा ठूलो मेला नै लाग्ने भएकाले वैशाख पूर्णिमालाई ‘घाँटु पूर्णिमा’ पनि भनिन्छ ।

क्व्होलासोंथर गाउँपालिका–९ टक्सारका इमप्रसाद गुरुङका अनुसार गाउँमा यसपालि रौनिक देखिएन । विगतका वैशाखपूर्णिमामा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमेत आउँथे । उनको घर टक्सार हो । ‘कोरोना संक्रमण जोखिमपछि अहिले घाँटु नाचिएन । मुख्यमन्त्री आउने कुरै भएन,’ इमप्रसादले भने ।

क्व्होलासोंथर–४ भुजुङका वडा सदस्य एवं घाँटुगुरु दिलबहादुर गुरुङका अनुसार यस वर्ष घाँटुलाई औपचारिकता मात्रै दिइएको छ । दुरी कायम गरेर बिहीबार घाँटु नाचिएको उनले बताए । ‘हाम्रो घाँटु अहिले अरूलाई देखाउन होइन । कोरोना संक्रमणका बेला हुलमुल गर्न हुँदैन । त्यसैले हामी गुरुहरू जुटेर छोटो समयमा सक्ने कार्यक्रम गर्‍यौं,’ उनले भने । उनका अनुसार भुजुङमा ३ देखि ५ दिनसम्म घाँटुको कार्यक्रम हुन्थ्यो ।

प्रकाशित : वैशाख २६, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?