गरिबीको मार : नागरिकता राखेर उपचार, लास उठाउन चन्दा 

दीपक परियार

पोखरा — जन्डिसले थलिएकी प्रमिला साहलाई आकस्मिक उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने भयो । लकडाउनमा खाने खर्च पनि जुट्न गाह्रो भएको अवस्थामा उनका श्रीमान रामदेव साहले ऋण खोजेर उपचार गरिरहेका थिए । तर, आईसीयूमा राख्न सकेनन् ।

गरिबीको मार : नागरिकता राखेर उपचार, लास उठाउन चन्दा 

अस्पतालले घर लैजान भन्यो । ९ हजार रुपैयाँ तिर्न बाँकी रहँदा उनले नागरिकताको प्रमाणपत्र बन्धकी राखेर श्रीमतीलाई घर ल्याए । ल्याएको चौंथो दिनमा प्रमिलाको मृत्यु भयो ।

पोखरा–१७ छोरेपाटनमा भाडामा बस्ने रामदेवसँग श्रीमतीको लास उठाउने न खर्च भएन । बिहीबार बिहानै निधन भए पनि श्रीमतीको अन्त्येष्टि गर्ने अन्योल भयो । सिराहाको लहानमा स्थायी घर भए पनि रामदेवको परिवार पोखरा बस्न थालेको १५ वर्ष भयो । लकडाउनअघि प्रमिलालाई रोगले च्याप्यो । ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेको परिवारमा आकाश खस्यो । उपचार गर्दागर्दै उनको एक लाख रुपैयाँभन्दा बढी खर्च भयो । केही सिप नलागेपछि उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगे । सरकारी अस्पतालमा ४५ हजार जति खर्च भयो । फेवातालमा डुंगा चलाउने प्रमिलाका भाइहरुले उपचारमा सहयोग गरे । रामदेवले साथीभाइसँग सरसापट मागे ।

चार दिनअघि उपचार खर्च सकियो । रामदेवको उपाय पनि सकियो । अस्पतालले प्रमिलालाई आईसीयूमा राख्नुपर्ने भन्यो । आईसीयूमा राख्न रामदेवसँग खर्च थिएन । रकमको जोहो हुने सबै बाटा सकिएका थिए । उनले डिस्चार्ज गर्ने निर्णय लिए । घर ल्याएको चार दिनमा बिहीबार एका बिहानै ३९ वर्षीया प्रमिलाले संसार छोडिन् ।

प्रमिलाको सास गएपछि रामदेवलाई सकस भयो, अन्त्येष्टि खर्च जुटाउने । छिमेकीले अलिअलि सरसहयोग गरे । तर, त्यतिले पुगेन । छोरेपाटनबाट रामघाटसम्म शव लैजानै सकस भयो । अमेरिकामा रहेकी सरिता गुरुङले १० हजार रुपैयाँ सहयोग गरिन् । पोखराको फेवा टेलिभिजनले ४ हजार रुपैयाँ सहयोग गर्‍यो । स्थानीयबाट झण्डै ५ हजार रुपैयाँ सहयोग संकलन भयो । स्थानीय तिलक आचार्यले कपडाको व्यवस्था गरिदिए । पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले गाडीको व्यवस्था गरिदिए । छोरेपाटनबाट शव रामघाटसम्म लैजाने व्यवस्था भयो ।

प्रमिलाका भाइ लक्ष्मण गिरी उपचार खर्च नहुँदा दिदीको ज्यान गएको बताउँछन् । ‘आईसीयूमा राख्ने खर्च भएको भए दिदीको ज्यान बच्थ्यो,’ उनले भने, ‘खाने खर्च पनि नभएको बेला आईसीयूमा राख्न सकिएनँ ।’ दाजुभाइ र इस्टमित्रले ५–१० हजार रुपैयाँ सहयोग गरेर नपुग्ने अवस्था रहेको उनले सुनाए ।

केही सहयोग भएपछि भने प्रमिलाको बिहीबार नै अन्त्येष्टि भएको छ । श्रीमतीको उपचार गर्दा लागेको ऋण सम्झेर रामदेव चिन्तित छन् । ‘काम गर्न पाए कमाएरै तिर्ने थिएँ,’ उनले भने, ‘यो बेला काम पनि छैन, आम्दानी पनि छैन । के तिर्ने ? के खाने ?’

प्रकाशित : वैशाख २५, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?