२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

स्याङ्जामा डेङ्‍गुका बिरामी भेटिए

प्रतिक्षा काफले

स्याङ्जा — स्याङ्जामा डेङ्गुका बिरामी भेटिएका छन् । वालिङ नगरपालिका–८ घर भएका ७० वर्षीय एक पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा रगतको परीक्षण गर्दा डेङ्गुको संक्रमण रहेको पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

स्याङ्जामा डेङ्‍गुका बिरामी भेटिए

पोखरामा उपचाररत बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाए । पोखरामा उपचाररत बिरामी वालिङको भएको हुँदा वालिङ नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि छिट्टै ‘लार्भाको खोजी र नष्ट गर्ने अभियान’ थाल्ने तयारीमा रहेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाणले बताए । ‘यो भाइरसबाट सर्ने रोग भएको हुँदा यसको उपचार छैन, पूर्व ावधानी नै महत्वपूर्ण हुन्छ,’ नगरप्रमुख खाणले भने, ‘यो रोग सर्नुका कारण, यसका लक्षण तथा यसबाट बच्न अपनाउन सकिने उपायबारेमा नगरबासीलाई सचेतना जगाउनका लागि प्रचारात्मक अभियान चलाउँछौं ।’

नगरपालिकाले चेतनामूलक कार्यक्रमसँगै डेङ्गु नियन्त्रणका लागि यसका बासस्थान नष्ट गर्ने तथा अन्य आवश्यक प्रक्रियाहरु अगाडि बढाउने उनले बताए । डेङ्गु भाइरसद्वारा संक्रमित ‘एडिज क्ष्जिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने स्वास्थ्य शाखा प्रमुख पाण्डे बताउँछन् ।

एक्कासि उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेङ्गु रोगको संक्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पाण्डेले अनुरोध गरे ।

प्रकाशित : वैशाख २३, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?