फर्ममै कुहिन थाले अण्डा

प्रकाश बराल

बागलुङ — जापानमा दशक काम गरेर फर्केका गलकोट–५ का ललित श्रीसले कुखुरा फर्म चलाएका छन् । कुखुरा पालेर छोरालाई पनि विदेश जानबाट रोक्ने उनको चाहना क्रमशः साकार हुँदै थियो । तर, कोभिड–१९ ले त्यसलाई नराम्ररी बिथोलिदिएको छ ।

फर्ममै कुहिन थाले अण्डा

दैनिक ४ हजार अण्डा उत्पादन गर्ने उनको फर्मबाट एक महिनादेखि अण्डा बिक्री हुन सकेको छैन । ऋण तिर्ने र कामदारलाई दिने तलब कताबाट जोहो गर्ने भन्ने चिन्ता छ । उनले ६ जनालाई रोजगारी दिएका छन् ।

लेयर्स कुखुरा पालेका श्रीसले हजारौं अण्डा कुहिएर फाल्नुपर्ने अवस्था आएको बताए । उनले स्थानीय सहकारीबाट ऋण लिएर फर्ममा लगानी गरेका थिए । ‘मेहनतले आफ्नै गाउँघरमा केही गरौं भनेको थिएँ, लकडाउन र कोरोना संक्रमणले व्यवसाय धराशायी बनायो,’ श्रीसले भने, ‘अझै कति महिना लगानी मात्र गर्नुपर्ने हो ?’ एक महिनामै झण्डै १५ लाख नोक्सानी भएको उनको गुनासो छ ।

केही समयअघि मात्र उनले विद्युत्बाट चल्ने ‘केज प्रविधि’ भित्राउने तयारी गरेका थिए । २७ रोपनीमध्ये ९ रोपनीमा खोर बनाएका छन् । बाँकीमा तरकारी खेतीका लागि हाइटेक प्रविधि राख्ने तयारी थियो । ‘दानाको खर्च कटाएपछि अण्डामा न्यून फाइदा थियो,’ उनले भने, ‘घटेको रेट बढेको थियो, बेच्न नपाई लकडाउनले घाटा बनायो ।’

बागलुङ नगरपालिका–११ रायडाँडाको रामतोला नमुना कृषि फर्ममा पनि यही समस्या छ । यहाँ १० जना युवाले लगानी गरेर काम थालेका थिए । उत्पादन लिने बेला नोक्सानी बेहोर्नुपरेको अध्यक्ष दलबहादुर थापाले बताए । सवारी साधन नचल्दा र बजार बन्द हुँदा अण्डा फर्ममै कुहिन थालेकाले खाडल खनेर पुर्नुपरेको उनको गुनासो छ ।

जिल्लामा २ सय किसानको कुखुरा फर्म छ । बजार क्षेत्रमा छिटपुट मासुको कारोबार भए पनि त्यो नगण्य रहेको कुखुरा पालक संघ बागलुङका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताए । ‘अण्डा र कुखुराको मासुमा आत्मनिर्भर बनाउन सकिए करोडौं रुपैयाँ बचाउन सकिन्थ्यो,’ उनले भने, ‘आत्मनिर्भर बनाउनै लागेका बेला लकडाउन र संक्रमणको जोखिमले लगानी धराशायी भएको छ ।’ उनले किसानलाई राहतको प्याकेज ल्याउनुपर्ने बताए ।

यसैबीच बागलुङको मिर्मिरे कृषि सहकारी संस्थाले भने किसानलाई राहत प्याकेज ल्याएको छ । सहकारीले मल, बीउ र डिजेलमा अनुदानसँगै राहतसमेत दिएको अध्यक्ष गंगाबहादुर थापाले बताए ।

प्रकाशित : वैशाख २१, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?