२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गण्डकीको निर्णय : कोरोना उपचारमा खटिने चिकित्सकलाई ३० लाखको स्वास्थ्य बिमा

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा खटिने चिकित्सकको स्वास्थ्य बिमा गरिदिने भएको छ । मंगलबार बसेको बैठकले प्रतिव्यक्ति ३० लाखका दरले बिमा गरिदिने निर्णय लिएको हो । 

गण्डकीको निर्णय : कोरोना उपचारमा खटिने चिकित्सकलाई ३० लाखको स्वास्थ्य बिमा

ड्युटीमा खटिएका बेला चिकित्सक बिरामी भए सरकारले नै उपचार गरिदिने र मृत्यु भए परिवारलाई बिमा रकम उपलब्ध गराइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

बैठकले सशक्त अनुदानका लागि संघीय सरकारसँग १० वटा योजना थप्न अनुरोधसमेत गरेको छ । तिनमा गण्डकी प्रदेशमा सरुवा तथा संक्रमित रोग उपचारका लागि अस्पताल, प्रदेशस्तरीय शिक्षा र अस्पताल, गण्डकी प्राविधिक प्रतिष्ठान निर्माण आयोजना, प्रदेश सदरमुकाम पोखरादेखि स्थानीय पालिकाको केन्द्र जोड्ने योजना, पोखरा महानगर रिङरोड आयोजना, कास्की र तनहुँको तल्लो पुडीटारमा औद्योगिक क्षेत्र निर्माण, नवलपुरको लोकाहाखोलामा प्रदेशको औद्योगिक क्षेत्र निर्माण आयोजना, फेवातालको संरक्षण र सौन्दर्यीकरण गर्ने, पर्यटन पुनरुत्थान कार्यक्रम छन् ।

यसरी नै प्रत्येक जिल्लामा खाद्य बैंकको भौतिक संरचना निर्माण गर्न सशक्त अनुदान माग गरिएको प्रवक्ता बस्नेतले बताए । उनका अनुसार गण्डकी प्रदेश विकास परिषद्ले सिफारिस गरेको प्रथम पञ्चवर्षीय योजना स्वीकृतसमेत गरिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य बिमा सहयोग संयोजक समिति गठन गरिएको छ । ५ सदस्यीय उक्त समितिको संयोजक सामाजिक विकास सचिव रहनेछन् । यसै गरी गण्डकीका ११ वटै जिल्लाका अस्पतालमा आईसीयू वार्ड बनाउन रकम विनियोजन गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले बताए ।

प्रकाशित : वैशाख १६, २०७७ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?