कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘विदेशबाट आएका सबैको पीसीआर टेस्ट’

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत पहिलो सातादेखि विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिने बताएका छन् ।

प्रदेशभरी अहिलेसम्म ४ हजार ५४३ जना विदेशबाट आएको तथ्यांक संकलन भएको भन्दै उनले सबैलाई पीसीआर परीक्षण गर्ने प्रदेश सरकारको योजना रहेको सुनाए ।

विदेशबाट आएका बागलुङका दुईजना उपचारपछि कोरोना संक्रमणमुक्त भएपछि प्रदेश ‘रेड’ बाट ‘ग्रीन जोन’ मा झरेको उनले जनाए ।

संक्रमित व्यक्ति देखिएको जिल्लालाई केन्द्रमा राखेर (रेडजोन मानेर) र्‍यापिड टेष्ट गर्ने योजना अनुसार प्रदेशभर ४७ सय भन्दाबढीको आरडीटी टेष्ट भइसकेको उनले जनाए । ‘प्रदेशमा बाहिरबाट आएका र शंकास्पदको आरडीटी परीक्षण भइसकेको छ । सबै रिपोर्ट नेगेटीभ छ,’शनिबार पत्रकार सम्मेलनमा उनले भने, ‘अब सबैको पीसीआर परीक्षण पनि गर्नुपर्छ । तर आवस्यकतानुसार स्वास्थ्य सामाग्री नहुँदा समस्या छ ।’संघीय सरकारसंग किटलगायत आवस्यक स्वास्थ्य सामाग्री मागेको उनले बताए । करिब ७००को पीसीआर परीक्षण भइसकेको उनले बताए ।

पछिल्लो समय विभिन्न जिल्लामा रहेका प्रदेशबासीलाई ल्याउने होडबाजीले गर्दा केही समस्या निम्तिन सक्ने उनले बताए । ‘सुरक्षित तवरले ल्यायौ भन्न पाइएन । नेपाल कोरोनामुक्त भएको पनि होइन,’उनले भने, ‘यस्तो लापारवाहीले समस्या निम्तिन सक्छ ।’संक्रमित भएका जिल्लाबाट पनि मानिसहरु ल्याइएको र यो संवेदनशीलतालाई नबुझिए समस्या बढ्नसक्ने उनको चिन्ता थियो ।

उनले लकडाउनको मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउनुपर्नेमा जोड दिए । नाकामा कडाइ गर्ने र खाद्य, कृषिलगायत उत्पादनमुलक उद्योग र निर्माणको काम सुरु गर्नुपर्ने उनको भनाइ छ । कच्चापदार्थ ल्याउनेदेखि उद्योगधन्दामा कार्यरत मजदुरको सबै सुरक्षा उपाय भने अवलम्बन गर्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री गुरुङले कोरोनाको महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने शिक्षा मिलेको भन्दै आगामी वर्षको बजेटमा सरुवा रोग विशिष्ट अस्पताल बनाउने योजना ल्याइने बताए । उनले बागलुङस्थित धौलागिरी अञ्‍चल अस्पतालका स्वास्थ्यकर्मीलाई धन्यवाद पनि दिए । स्थानीय तहले विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई दिएको राहतमा दुरुपयोग भएको भन्दै उनले गुनासो गरे ।

यस्तै मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित भइ धौलागिरी अञ्‍चल अस्पताल बागलुङमा उपचार गरी फर्केका दुई जनालाई बधाइ दिएका छन् । ६५ वर्षकी मनकुमारी पौडेल र १९ वर्षकी अंशु सापकोटा कोरोना निको भएर क्रमश वैशाख ६ र १२ मा घर फर्केपछि मुख्यमन्त्रीले बधाइ दिएका हुन् ।

प्रकाशित : वैशाख १३, २०७७ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?