१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

हुलका हुल यात्रु सोझै गाउँमा 

प्रकाश बराल

बागलुङ — कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण रोक्न लकडाउन भएको एक महिना पुगेकै दिन बागलुङमा तीन सयभन्दा बढी श्रमिक तथा अन्य व्यक्ति भित्रिएका छन् । राजधानी काठमाडौं, चितवनसहित विभिन्न सहरबाट बस रिजर्भ गरेर हुलका हुल मानिस भित्रिएको मालढुंगा प्रहरी चौकीले जनाएको छ ।

हुलका हुल यात्रु सोझै गाउँमा 

नेताहरूले उनीहरूलाई बस रिजर्भ गरेर ल्याएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।जिल्ला भित्रिएकाहरू अधिकांश ग्रामीण बस्तीका छन् । ‘राजनीतिक नेतृत्वले नै जम्मा पारेर पठाएको बुझेपछि हामीले पनि गन्तव्यमा पठाउन सहयोग गरेका छौं’ भट्टले भने । राजधानीमा पनि सुरक्षित बसेको भनेपछि घरै जान खोज्नेलाई नरोकिएको उनले बताए । भारतबाट आएको शंका गरिएका चार जनालाई भने प्रहरीले क्वारेन्टाइनमा पठाएको छ ।

यसअघि पैदलै आएका मजदुरलाई पनि प्रहरीले क्वारेन्टाइनमा राखेको थियो । गत आइतबारदेखि चार दिनसम्म आएकालाई क्वारेन्टाइनमा आरडीटी गरेर मात्र गन्तव्य पठाइएकोमा त्यसयता आएकाहरू सोझै गाउँ पसेका छन् । ‘अहिलेसम्म एक–दुई जना आउँदा पनि क्वारेन्टाइनमा राखेका थियौं,’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘आज त हुलका हुल आएका छन्, उनीहरूबाट कसरी बचाउने भन्ने चुनौती भएको छ ।’

बागलुङ नगरपालिकाले पनि झन्डै डेढ सय मजदुरलाई गन्तव्य पठाएको छ । उनीहरूलाई क्वारेन्टाइनमा राख्ने, खाना खुवाउने र आरडीटीपछि गन्तव्यमा पठाउने गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए । गन्तव्य पठाइएकामा दुई महिनाकी सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकासमेत थिए ।

बिहीबार सांसद देबेन्द्र पौडेलले रिजर्भ गरेर पठाएको भन्दै दुईवटा बसमा काठमाडौंदेखि यात्रु आएको मालढुंगा प्रहरी चौकीका सहायक निरीक्षक रामबाबु साहले बताए । उनीहरू उज्यालो नहुँदै सोझै गलकोट र बुर्तिबाङतर्फ लागेका थिए । थर्मल गनले ज्वरो नापेर यात्रु पठाइएको उनले जानकारी दिए । ‘घर पुगेपछि क्वारेन्टाइनमा बस्न सल्लाह दिएका छौं, अरू केही गर्न सकिएन,’ उनले भने, ‘सदरमुकामका एक–दुई जनाबाहेक सबै ग्रामीण क्षेत्रका थिए ।’

यसैबीच गलकोट नगरपालिकाले पनि बिहीबार बेलुकी ८५ जना मजदुरलाई पठाएको छ । उनीहरू अधिकांश पर्सा, रौतहट र बारा जिल्लाका छन् । नगरपालिकाले बस रिजर्भ गरेर पठाए पनि राति २ बजेदेखि पोखरामा प्रहरीले रोकिदिएपछि उनीहरू अलपत्र थिए । नगरप्रमुख भरत शर्मा गैरेले उनीहरूलाई पठाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पहल थालेको बताए ।

प्रकाशित : वैशाख १३, २०७७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?