कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला बाहिरबाट आलु प्याज ल्याउने ट्रक नियन्त्रणमा 

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिकाले जिल्ला बाहिरबाट आलु, प्याजलाई ल्याएको ट्रकलाई नियन्त्रणमा लिएर एक गोदम सिल गरेको छ ।

जिल्ला बाहिरबाट आलु प्याज ल्याउने ट्रक नियन्त्रणमा 

कोराना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन र रोकथामका लागि जिल्ला बाहिरबाट तरकारी, पशुपंक्षी ल्याउन रोक लगाइए पनि निर्णय विपरीत ल्याइएको वस्तु नियन्त्रणमा लिई गोदम सिल गरिएको हो ।

नगरपालिकाको वडा नं. ३ स्थित महर्षि टोलमा तरकारी तथा खाद्यन्‍न पसल सञ्चालन गर्दै आएका मुन्‍निलाल साह रोनियाले ग १ क ३५१४ नम्बरको ट्रकमा भैरवहाबाट २ सय ७५ बोरा प्याज, ४ बोरा आलु र ६५ बोरा चामाल ल्याएको सूचना पाएपछि उपप्रमुख जोशी सहितको टोलीले गोदामको अनुगमन गरेको नगरपालिकाका सामाजिक विकास अधिकृत राजेन्द्र कार्कीले बताए ।

अधिकृत कार्कीले भने, ‘जिल्ला बाहिरबाट तरकारी लगायतका खाद्यवस्तु ल्याइएको सूचना प्राप्त भएपछि गरिएको अनुगमनका क्रममा उक्त परिमाणमा आलु, प्याज भेटिएको हुँदा प्रहरी प्रशासनको रोहोबरमा नियन्त्रणमा लिई गोदाम सिल गरिएको छ । सामान आयत गर्ने व्यक्ति र उक्त वस्तुको विषयमा जिल्ला प्रशासन कार्यालयको निर्णयानुसार कारबाही प्रक्रिया अगाडि बढाइने छ ।’

नगरपालिकाको अगुवाइमा गत शनिबार दमौलीमा बसेको स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय उद्योगी व्यवसायी समेतको बैठकले आगामि दिनमा जिल्ला बाहिरबाट आयत गर्ने तरकारीलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकले जिल्लामै उत्पादित तरकारीलाई व्यवस्थित रुपमा बजारीकरण गर्ने समेत निर्णय गरेको थियो ।

निर्णय विपरीत भारतीय सीमाबाट आलु, प्याज लगायतका खाद्यवस्तु ल्याइको पाएकाले नियन्त्रणमा लिई गोदाम सिल गरिएको व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले बताइन् ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लाका स्थानीय तहहरुले अन्यत्रबाट आउने तरकारी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेका छन् । पृथ्वीराजमार्गको मुग्लिन पुलबाटनै तरकारी तथा पशुपंक्षी गण्डकी प्रदेश प्रवेशमा रोक लगाइएको छ ।

भारत तथा चीनबाट आउने तरकारी समेत देश भित्रैको भनेर आउनथालेपछि जोखिमबाट जोगिन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । उनले भने, ‘जिल्लाका लागि आवश्यक तरकारी यही नै उत्पादन हुने र यहाा उत्पादित तरकारी अहिले अन्य जिल्लामा निर्यात समेत नभएको अवस्थालाई ख्याल गरी जिल्लाका स्थानीय तह तथा अन्य सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरिएको हो ।’

प्रकाशित : वैशाख ११, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?