म्याग्दीमा डेंगु र स्क्रब टाइफस एकैचोटि देखियाे

घनश्याम खड्का

म्याग्दी — कोरोना भाइरसको त्रासकै बीच जिल्लाका एक युवकमा उस्तै लक्षण देखिने डेंगु र स्क्रब टाइफसको संक्रमण भएको छ । मंगला गाउँपालिका–५ सिर्कुमका युवक चार दिनअघि ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जोर्नी दुख्नेजस्ता लक्षण देखिएपछि बेनी अस्पताल भर्ना भएका थिए । उनमा डेंगु र स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ ।

डेंगु लामखुट्टे र स्क्रब टाइफस मुसामा हुने किर्नाको टोकाइले सर्छ । ‘यो सिजनमा भेटिएको डेंगु र स्क्रब संक्रमणको पहिलो केस यही हो,’ बेनी अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले भने, ‘डेंगु र कोभिड–१९ रोगको लक्षण मिल्दोजुल्दो भएकाले आत्तिनु हुँदैन ।’

माघ २ गते उच्च ज्वरोले ग्रस्त भई अस्पताल आएकी बेनी नगरपालिका–७ की ४५ वर्षीया महिलामा पनि डेंगु संक्रमण भेटिएको थियो । डेंगु र स्क्रब टाइफस अन्यमा सजिलै संक्रमण हुने भएकाले लक डाउनका वेला थप सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् ।

‘गर्मी सिजनसँगै डेंगु देखिन थालेको छ । कोरोना संक्रमणजस्तै लक्षण हुने डेंगुले थप त्रास बढाएको छ,’ बेनी अस्पतालका ल्याब टेक्नोलोजिस्ट संजोग तिमिल्सिनाले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित व्यवस्थापन डेंगुको मुख्य चुनौती हो ।’

बेनी अस्पतालको अभिलेखअनुसार भदौयता मात्र जिल्लामा १४ जनामा डेंगु संक्रमण फेला परेको छ । संक्रमित सबै बिरामी बेनी नगर क्षेत्रका छन् । पुस तेस्रो साता एक ६६ वर्षीया महिलामा पनि स्क्रब टाइफस भेटिएको थियो ।

‘हामीले यसै वर्षदेखि जिल्लामा डेंगु र स्क्रब टाइफसको ल्याब परीक्षण सुरु गरेका हौं,’ ल्याब टेक्नोलोजिस्ट तिमिल्सिनाले भने, ‘यो रोग परीक्षण गर्ने र्‍यापिड डाइग्नोस्टिक किटको व्यवस्थापन गरेका छौं ।’

प्रकाशित : वैशाख ९, २०७७ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?