१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाँच जनासम्म मजदुर खटाएर भौतिक निर्माणका काम गर्न पाइने

सम्झना रसाइली

(तनहुँ) — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको समयावधिमा पनि जिल्लाको शुक्लागण्डकी नगरपालिकाले भौतिक निर्माणको काम गर्न दिने भएको छ । नगरपालिका क्षेत्रभित्रका भौतिक निर्माणका काममा ५ जनासम्म मजदुर खटाएर काम गर्न दिने भएको हो ।

निर्माणका लागि लकडाउन अगाडि ल्याएका सामग्री फाल्नुपर्ने अवस्था नपरोस् भन्दै ५ जनासम्म मजदुर खटाएर काम गर्न दिइने नगरप्रमुख किसान गुरुङले बताए । उनले भने, ‘मौज्दात भएका निर्माणका सामग्री बिग्रन सक्छन् । त्यसैले सामाजिक दूरी कायम गर्दै सावधानी अप्‍नाएर काम गर्न दिने निर्णय गरिएको हो । तर नयाँ सामग्री ल्याएर काम थाल्न भने पाइने छैन ।’

लकडाउनका कारण यहाँ सञ्चालित विकासका योजनासँगै भौतिक संरचना निर्माणको काम पनि रोकिएका छन् । मौज्दात रहेका सिमेन्ट, गिट्टी, बालुवा लगायत निर्माण सामग्री हिनामिना नहोस् भनि सावधानी अप्नाउँदै निर्माण कार्य अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालयले दैनिक बिहान ७ देखि १० बजेसम्म तरकारी तथा खाद्यान्न पसल खुल्ला गर्ने भने तापनि शुक्लागण्डकीमा भने एक घण्टाको समय घटाउँदै दैनिक ७ देखि ९ बजेसम्म मात्र खोल्न दिने भएको उनले बताए । उक्त समयमा तरकारी खरिदका लागि वडाले एक घर एक पासको व्यवस्था मिलाएको छ ।

त्यस्तै, स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न सहुलियत दरमा आवश्यक बीउविजन वितरण गर्ने बताइएको छ ।

प्रकाशित : वैशाख ७, २०७७ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?