कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दूध खपत नभएपछि पनिर र घ्यू 

प्रतीक्षा काफ्ले

स्याङ्जा — लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक व्यवसायीले पनिर, नौनी र घ्यू  उत्पादन थालेका छन । लामो समयसम्म राख्न सकिने गरी पनिर, नौनी, घ्यू उत्पादन थालेको वालिङ् नगरपालिका–१२ का व्यवसायी पिताम्बर डुम्रेले बताए ।

डुम्रेको वालिङ–१२ मा ‘पनियारे कृषि फर्म’ मार्फत हाल ९५ वटा गाई तथा भैंसीबाट दैनिक दुईसय ७० लिटर दूध उत्पादन हुने गरेको छ । ‘लकडाउन अवधिमा १५० लिटर दूध बिक्री हुँदै आएको छ’ उनले भने, ‘बजारमा पहिला जति दूध अहिले खफत भएको छैन ।’

उनका अनुसार लकडाउनका कारण मानिस गाउँ–गाउँ पुगपछि बजारमा दूध खपत घटेको हो । ‘उत्पादित दूध पुरै खपत भएन भन्दै यत्तिकै फाल्ने कुरा पनि भएन ’ उनले भने, ‘दूध खपत नभएकाले लामो समयसम्म रहन सक्ने गरी पनीर, नौनी, घ्यू लगायत वस्तु उत्पादन गर्न थालेको हुँ ।’ यहाँ उत्पादन भएको दूध, पनिर, नौनी र घ्यू वालिङ, गल्याङ तथा बयरघारी बजारमा बिक्री हुने गरेको उनको भनाई छ ।

डुम्रेले अहिले दूधसंगै दैनिक १५ किलो पनिर र तीन किलो नौनी घ्यू उत्पादन गर्दै आएका छन । पनिर प्रतिकिलो छ सय ५० र नौनी/घ्यू प्रतिकिलो आठ सयमा बिक्री हुँदै आएको उनले बताए । लकडाउनका कारण फर्ममा उत्पादित दूध पूरै खपत हुन नसकेपछि चिन्तामा रहेका बेला केही समयसम्म रहन सक्ने परिकार उत्पादन थालेसंँगै समस्या समाधान भएको उनको भनाई छ ।

‘उत्पादित वस्तुहरु त्यसै खेर जान नदिनुहोला, खेरै जाने अवस्था आउन थालेमा नगरपालिकामा खबर गर्नुहोस्, हामीले खरिद गरी बिक्री वितरणको व्यवस्था मिलाउने छौं’ वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले भने, ‘अहिले वालिङ नगरभित्रका व्यवसायीक पशुपालक उत्साहित हुनुहुन्छ र उत्पादित बस्तुले राम्रो बजार पाएकाले खेर जाने अवस्था आएको छैन ।’

वालिङ नगरका १४ वडामा २५ वटा पशुपालन फर्म सञ्चालनमा रहेको उनले बताए । वालिङ नगरपालिकाले पशुपालक व्यावसायीको फर्ममै पुगेर उत्पादित वस्तुको बजारीकरण, पशु आहारा, दानापानी ओसारपसारमा आईपरेका समस्याको बारेमा सहजीकरण गरिएको नगरप्रमुख खाँडले बताए ।

प्रकाशित : वैशाख ७, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?