तनहुँमा जिल्ला बाहिरबाट तरकारी आयतमा प्रतिबन्ध

सम्झना रसाइली

तनहुँ — तनहुॅमा जिल्ला बाहिरबाट तरकारी ल्याउन प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि छिमेकी जिल्ला र भारतबाट आयत गरिने तरकारी रोक लगाउने निर्णय जिल्लाका सरोकारवालाहरुको बैठकले गरेको हो ।

तनहुँमा जिल्ला बाहिरबाट तरकारी आयतमा प्रतिबन्ध

भारत तथा चीनबाट आउने तरकारी समेत देशभित्रैको भनेर आउन थालेपछि जोखिमबाट जोगिन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

जिल्लाका लागि आवश्यक तरकारी जिल्लाभित्रै उत्पादन हुने उनको भनाइ छ । जिल्लाका स्थानीय तह तथा अन्य सरोकारवालाहरुको बैठकले जिल्ला बासीको सुरक्षालाई मध्यनजर गर्दै अन्य जिल्लाबाट आउने तरकारी तथा फलफूललाई रोक लगाएर जिल्लाभित्रका कृषकहरुले उत्पादन गरेको तरकारी सिधै उपभोक्ताको घरघरमा लगेर बिक्री वितरण गर्ने व्यवस्था मिलाएको हो ।

लकडाउन अवधिभर स्थानीय कृषि उत्पादनहरु मात्र बिक्री वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । उपभोक्ताहरुका लागि हरेक दिन विहानको ७ बजेदेखि १० बजेसम्म जिल्लाका तरकारी पसलहरु खुल्ला गर्ने निर्णय भएको तनहुँ तरकारी व्यवसायी संघका अध्यक्ष बिजय बरालले जानकारी दिए ।

यस्तै, जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि जिल्लाभित्र रहेको मन्दिर, मस्जिदको अनुगमन सुरु गरेको छ । लकडाउनको उल्लंघन गर्दै विदेश तथा अन्य जिल्लाबाट मानिसहरु आएर मन्दिर मस्जिदमा आश्रय लिएर आएका छन् कि भनेर अनुगमन सुरु गरिएको प्रजिअ अधिकारीले बताए ।

प्रकाशित : वैशाख ६, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?