पोजिटिभ देखिएकी बाग्लुङकी महिलाको तेस्रो परीक्षणमा आयो नेगेटिभ
पोखरा — कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको पिसीआर परीक्षणमा यस्तो नतीजा आएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए । ‘बिहीबार गरिएको स्वाब परीक्षणमा युवतीको कोरोना पोजिटिभ र महिलाको नेगेटिभ नतीजा आयो’ शर्माले भने ।
कतार एअरवेयजको जहाजमा विदेशबाट आएका दुवैजनामा कोरोना संक्रमण भेटिएको थियो । दुवैको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनीहरुमध्ये युवती चैत १५ र महिला १९ गतेदेखि आइसोलेसनमा छन् । उनीहरुको अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए । दम र उच्च रक्तचापकी बिरामी भएकाले महिलाले त्यसको औषधि खाइरहेकी छन् ।
प्रकाशित : वैशाख ४, २०७७ १७:२०