लकडाउनका स्थानीय शैली प्रभावकारी

घनश्याम खड्का

(म्याग्दी) — विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले तेस्रो चरणमा लकडाउन झन् कसिलो बनाउँदै लगेको छ । 

सदरमुकाम समेत सहरी क्षेत्रमा स्थानीयले लकडाउन उल्लङ्घन गर्ने बढेपछि प्रशासनले सडकमा निक्लनेलाई संक्रमण रोग निवारण रोग ऐन ०२०अन्तर्गत आदेश पालना नगरेको कसुरमा एक सय जरिवाना गर्ने भएको छ ।

सरकारले घोषणा गरेको तेस्रो पटक लकडाउनको समयावधि थप्‍नुअघि नै स्थानीय सरकार र तहमा लकडाउनको प्रभावकारी अभ्यास भइसकेको छ । एक स्थानीय र अर्को स्थानीय तहमा मात्र होइन वडा–वडा तथा बस्ती–बस्तीमा समेत आवतजावतमा प्रभावकारी कडाई गरेका छन् । कृषकहरु डफ्फा लगाएर गर्ने काम पनि संख्या घटाएका छन्, सामाजिक दूरी कायम गर्न थालेका छन् । कोभिड–१९ संक्रमण हुनेको संख्या बढेको र दोस्रो चरणमा प्रवेश गरेको देखिएपछि त्रसित सर्वसाधारणले लकडाउन अझ कठाई गर्न आफैं कस्सिएका छन् । संघीय, प्रदेश र स्थानीय सरकारहरु मात्र होइन लकडाउनलाई अझ कडाई गर्न समुदाय आ–आफ्नै शैलीमा सक्रिय हुन थालेका छन् ।

‘लकडाउनको सहर/बजार क्षेत्रमा भन्दा ग्रामीण बस्तीमा अनुशासित र व्यवस्थित पालना भएको छ । नपा/गापा मात्र होइन, प्राय: सबै बस्तीमा समुदाय आफैंले स्वफूर्त संक्रमण रोक्न सक्रिय छन्’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘मालवाहक सवारी साधनमा आउने मजदुर, छिपेर हिँड्ने यात्रु र खाद्यपदार्थबाट नै संक्रमण फैलिन्छ कि भन्ने त्रास छ । जिल्ला भित्रने चामल, चिनीजस्ता भिज्ने खाद्यान्न बाहेकका सामग्रीमा क्लोरिन छर्केर मात्र ल्याउने योजना बनाएका छौं ।’

संघीय सरकारले देशभर लकडाउन गरेको मात्र होइन, स्थानीय प्रशासनले निषेधाज्ञासहितको जिल्ला प्रवेशमा रोक लगाएको छ । नगर/गाउँपालिकाले आ–आफ्ना सीमा सिल गरेका छन् भने वडा/बस्ती तहमा समुदाय आफैंले आवतजावत रोक लगाएका छन् । स्थानीय तहले आ–आफ्ना गाउँपालिका प्रवेश गर्ने नाकामा पारिश्रमिक दिएर स्थानीय युवा (स्वसेवक) परिचालन गरेका छन् ।

‘हामीले विदेशबाट फर्केका १५ दिन नपुगेकालाई अनिवार्य तोकिएको क्‍वारेन्टाइनमा राख्यौं, चैतयता विदेशबाट घर फर्केका सबैलाई खोजी खोजी र्‍यापिड टेस्ट गराएका छौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘कोरना संक्रमणको जोखिम न्यूनिकरण गर्न क्‍वारेन्टाइन निर्माण, विपद् कोष निर्माण समेतका आन्तरिक तयारीसँगै स्वयंसेवक परिचालन गरी गाउँपालिका छोड्न/प्रवेशमा रोक लगाएका छौं । सदरमुकामको बेनी अस्पतालमा समेत जिल्लाका सबै ६ स्थानीय तहमा एक–एक वटा क्‍वारेन्टाइन सेन्टर स्थापना गरिएको छ ।

त्यसैगरी, कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाई राख्न मालिका गाउँपालिकाको दरवाङ्ग र बेनीमा ६–६ बेड क्षमताको आइसोलेसन स्थापना गरिएको छ । क्‍वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरना भाइरस संक्रमणको लक्षण देखिए आइसोलेसनमा पठाउने, त्यहाँ बिरामीको स्वाब परीक्षणमा पठाउने र कोभिड–१९ पुष्टि भएमा वेनी अस्पतालमा रहेको क्‍वारेन्टाइनमा ३ दिन राख्ने, स्वास्थ्यमा सुधार नभए पोखरा रिफर गर्ने सिस्टम बनाइएको छ ।

प्रकाशित : वैशाख ३, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?