कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गोरखपुरबाट हिँडेरै गाउँ 

प्रकाश बराल

बागलुङ — गलकोटका तीन युवक भारतको गोरखपुरबाटै हिँडेर लकडाउन सुरु भएको पाँचौं दिन गाउँ आइपुगे । यो थाहा पाएपछि गलकोट नगरपालिकाले उनीहरूलाई क्वारेन्टाइनमा राख्यो ।

गलकोट–८ काँडेवासका ती युवक क्वारेन्टाइनमै १४ दिन बिताएर र्‍यापिड टेस्टमा समेत कोरोना नेगेटिभ देखिएपछि घर फर्केका छन् । ‘हिँडेरै आइपुगेका रहेछन्, घर जान नदिई बाटैमा रोकेर क्वारेन्टाइनमा राख्यौं,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘खाने व्यवस्था नगरपालिकाले गरायो ।’

गलकोट–३ र ६ जोड्ने गौंदीखोलाको पक्की पुलमा काम गर्ने ७ प्राविधिक लकडाउनकै क्रममा नगर प्रवेश गरेको भेटिएपछि खैलाबैला मच्चियो । कास्की प्रशासनको पास लिएर आएकाहरू अन्य कुनै जिल्लाको पासबिनै गत साता गलकोट पुगेका थिए । उनीहरू बेलुकी अबेर आएर होटलमा बसेको थाहा पाएपछि नगरप्रमुख र प्रहरीको टोलीले सोधपुछ गर्‍यो । ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्पनीले बनाएको पक्की पुलको सेटिङ खोल्न उनीहरू आएको खुल्यो । ‘जिल्लाको पासै नलिई कसरी आए भन्ने सोधपुछमा कसैले पत्तो नदिएपछि नरेठाँटीमा रहेको क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छौं,’ गैरेले भने, ‘दिउँसो काम गर्छन्, क्वारेन्टाइनमै खाने–बस्ने गरिरहेका छन् ।’ उनीहरू बुटवल र नवलपरासी घर भएकाहरू हुन् । र्‍यापिड टेस्टको टोलीबाट उनीहरूको रगत परीक्षण गर्ने योजना बनाइएको छ ।

छिटपुट रूपमा यसरी गाउँ भित्रिएकाहरूको स्थानीय तहले खोजीखोजी लागत राखेका छन् । ‘भारतबाटै हिँडेर आएका चार युवकलाई क्वारेन्टाइनमा राखेका थियौं, चौध दिन पुगेपछि स्वाब परीक्षण गर्दा नेगेटिभ देखियो,’ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेलले भने, ‘सामान्य अवस्था देखिएपछि एक–एक माना मह उपहार दिएर घर पठायौं ।’ उनीहरूलाई अझै केही दिन होम क्वारेन्टाइनमा बस्न भनिएको छ । गौरीफन्टा नाकाबाट भित्रिएको हुलमा उनीहरूसहित बागलुङका ८ जना भएको पत्ता लागेको थियो । चार जना गाउँ आएको र बाँकी चार जना रूपन्देहीमा आफन्तको घरमा बसेको खुलेको छ ।

अन्य पालिकामा पनि यसरी भित्रनेको खोजी भएको छ । आएकाहरूलाई घरघरमै सुरक्षित बस्न लगाइएको थियो । मंगलबारसम्म सबैको र्‍यापिड टेस्ट भएको छ । जसमा एक जनाको मात्र पोजिटिभ देखिएको थियो । स्वाब परीक्षणमा उनको पनि नेगेटिभ आएपछि परीक्षण गरिएका ९ सयमै कोरोना भाइरस नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

प्रकाशित : वैशाख ३, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?