१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पर्वतका मजदुर बागलुङमा अलपत्र

अगन्धर तिवारी

पर्वत — लकडाउनका कारण कामविहिन बनेका मजदुर पैदलै घर फर्किने क्रममा बागलुङमा अलपत्र परेका छन् । २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनामा कार्यरत दैलेख घर भएका १३ जना मजदुर बागलुङको छिस्तीमा अलपत्र परेका हुन् ।

पर्वतका मजदुर बागलुङमा अलपत्र

दैलेख घर भइ विगत केही समयदेखि फेवा कन्स्ट्रक्सन मार्फत तल्लो मोदी जलविद्युत् आयोजनामा कार्यरत मजदुर लकडाउन खुल्ने सम्भावना नभएपछि हिँडेरै घर जाने तयारी गरेका थिए । कुश्मा नगरपालिका–८ चुवाबाट पैदल यात्राको सिफारिस बनाएर मंगलबार बिहान हिँडेका मजदुर जैमिनी नगरपालिका–८ मा पुगेपछि अलपत्र परेका हुन् ।

‘पैदल हिँड्न पाइन्छ भनेर वडाबाट सिफारिस बनाएर आयौं,’ जिरज ओलीले भने, ‘यहाँ आएपछि अघि बढ्नै पाइएन । हिजो यहीँको एउटा विद्यालयको कोठामा भोकै सुत्यौं ।’ मंगलबार बिहानदेखि आफूहरु भोकभोकै भएको उनले बताए । ‘विद्यालयको चीसो भुइँमा भोकै रात काटियो । अहिले घर जाने कि पर्वत फर्किने दोधारमा छौं ।’ काम गरेकै ठाउँमा फर्किन पनि प्रहरीले नदिएपछि बिचल्लीमा परेको उनीहरुले बताए ।

लकडाउन कडाइ गर्न पर्वतको विपत् व्यवस्थापन समितिले एक पालिकाबाट अर्कोका र एक वडाबाट अर्कोमा आउजाउ गर्न समेत रोकेको थियो । कडाइका बीच वडाको सिफारिसका आधारमा मजदुरको त्यत्रो समूह कसरी जिल्ला बाहिरियो भन्ने विषयमा बुधबार बिहान जिल्ला विपत् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ । ‘त्यत्रो सुरक्षा घेरा तोडेर उनीहरु कसरी बाहिरिए त्यो चासोको विषय हो,’ बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले भने, ‘यही विषयमा सुरक्षा र विपत् समितिको बैठकमा छौं । उनीहरुलाई तुरुन्तै पुरानै ठाउँमा ल्याएर खानपानको व्यवस्था गर्छौं ।’

सडक तथा विद्युत् आयोजनामा काम गरिरहेको फेवा कन्स्ट्रक्सनमा पर्वतमा मात्रै करिब एक हजार जना मजदुर कार्यरत छन् । तीमध्ये करिब नौ सयलाई चैत १८ गतेअघि नै घर पठाइसकिएको फेवाका प्रतिनिधि राजेन्द्र पहारीले बताए । सम्भव हुनेलाई पहिल्यै सुरक्षित रुपमा घर पठाइसकेका थियौं,’ उनले भने, ‘बाँकी केहीलाई पास बनाउने भन्दाभन्दै पर्वत प्रशासनले दिएन ।’ घर जान नपाएका सबै मजदुरलाई खाने–बस्ने व्यवस्था गरेको उनको दाबी छ । तर, केही मजदुर जानकारी बिना नै बसेको ठाउँ छोडेर आफूखुसी गएको उनले बताए ।

प्रकाशित : वैशाख ३, २०७७ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?