चट्याङ पर्दा घरमा आगलागी, ६ पशुचौपाया मरे

आश गुरुङ

लमजुङ — जिल्लामा चट्याङले घरगोठ, नगद तथा पशुचौपायामा क्षति पुर्‍याएको छ । सोमबार राति ४ ठाउँमा परेको चट्याङले घर, नगद र गोठसहित पशुचौपाया जलेको हो ।

चट्याङ पर्दा घरमा आगलागी, ६ पशुचौपाया मरे

सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोटमा कूलप्रसाद पाण्डेको घरमा चट्याङ लागेर बिजुलीको मिटर बक्स पड्किएर आगलागी हुँदा घर जलेको छ । राति साढे ११ बजेतिर चट्याङ पर्दा घरमा रहेको ७५ हजार नगद जलेको छ । सामान्य घाइते भएको पाण्डे स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्केका छन् । साँढे ४ लाख रुपैयाँ बराबरको क्षति पुगेको डीएसपी रविन्द्रमान गुरुङले बताए ।

दूधपोखरी गाउँपालिका २ विचौरको डुङडाँडामा चट्याङका कारण कृष्णप्रसाद अर्यालको खोरमा रहेको ४ वटा बाख्रा जलेर मरेको छ । चट्याङले गोठ सबै जलेको छ । इलाका प्रहरी कार्यालय विचौरका सई मनोजकुमार चौवेले खोरमा रहेका तीनवटा माउबाख्रा जलेको र एउटा मरेको अवस्थामा भेटिएको बताए । उनका अनुसार एउटा माउबाख्रा घाइते अवस्थामा छ ।

घरभन्दा करिब १ किलोमिटर टाढा राखिएको काठको गोठमा ५ वटा माउबाख्रा थियो । करिब ७५ हजार रुपैयाँको क्षति भएको उनले बताए ।

चट्याङका कारण २ घरमा रहेको मिटर बक्स जलेको छ । उक्त मिटर बक्सबाट करिब १५ घरधुरीले बिजुली बाल्दै आएका थिए ।

सुन्दरबजार नगरपालिका ४ अर्चल्यानीमा रामजी सार्कीको एकपाखे गोठमा चट्याङका कारण आगलागी हुँदा एउटा भैंसी र एउटा गाई मरेको स्थानीय दीपक पौडेलले बताए ।

प्रकाशित : वैशाख २, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?