३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नयाँवर्षमा कालीगण्डकीमा स्‍नान गर्न नजान प्रशासनको आग्रह

अगन्धर तिवारी

पर्वत — कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर गरिएको लकडाउनकोबीचमा परेको नयाँ वर्ष घरघरमै मनाउन र घरमै स्‍नान गर्न प्रशासनले पर्वतवासीलाई आग्रह गरेको छ ।

विशेषगरी नयाँ वर्षमा कालीगण्डकी किनारमा स्‍नान गर्न जाने हिन्दु धर्मावलम्बीहरुलाई लक्षित गरेर प्रशासनले यस्तो आग्रह गरेको हो ।

कालीगण्डकीका किनारमा हुने धार्मिक मेला तथा भीडभाडका कारण कोरोना (कोभिड–१९) फैलन सक्ने खतरातर्फ सचेत हुन सर्वसाधारणलाई अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालद्वारा जारी अपिलमा कालीगण्डकी किनारमा हुने धार्मिक मेला, पूजापाठ तथा तथा जुनसुकै कार्यक्रम नगर्न र जमघट नहुन आग्रह गरेको हो ।

भीडभाडका कारण संक्रमण फैलन सक्ने खतरा रहेकोतर्फ सचेत हुन भनिएको हो । एक पालिका तथा वडाबाट अर्को पालिका तथा वडामा समेत आउजाउ रोकिएको अवस्थामा सबै कार्यक्रम घरभित्रै गरि लकडाउनलाई पालना गर्न प्रशासनले आग्रह गरेको हो । ‘विशेषगरी परम्परागत रुपमा गरिँदै आएको कालीगण्डकी स्नान गर्दा झनै सामाजिक दूरी कायम नहुने महशुस गरिएको छ । साथै कोरोना भाइरस जुनसुकै सामाग्री वा व्यक्तिको आवतजावतबाट सर्न सक्ने र स्थिति भयावह हुने भई अकल्पनीय क्षति हुनसक्छ । त्यसैले यसको न्यूनीकरण गर्ने अभियानलाई सहयोग पुर्‍याइदिनुहुन अनुरोध छ,’ प्रशासनद्वारा जारी अपिल पत्रमा उल्लेख छ ।

हिन्दु वैदिक धर्म अनुसार संक्रान्तिमा कालीगण्डकीमा स्नान गर्दा पुराना वर्षका रोगव्याधी पखालिने तथा नयाँ वर्षभरि सुखशान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।

प्रकाशित : चैत्र ३०, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?