३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चैतयता आएका सबैको स्वाब जाँचिने  

अगन्धर तिवारी

पर्वत — कोभिड–१९ संक्रमण फैलन नदिन जिल्लामा चैत महिनायता गाउँ फर्किएका सबैको स्वाब परीक्षण सुरु गरिएको छ । जिल्ला अस्पतालका डाक्टरसहित स्थानीय तहका स्वास्थ्यकर्मीको संलग्नतामा स्वाब संकलन हुँदै छ ।

शनिबारसम्म कुस्मा, जलजला, फलेबासलगायत स्थानीय तहका ९६ जनाको जनाको स्वाब संकलन गरिसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट शिशिर देवकोटाले बताए । उनका अनुसार यसअघि पठाइएका ४६ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । ‘शनिबार फलेबासमा विदेशबाट आएका ५० जनाको स्वाब संकलन गर्दै छौं,’ उनले भने ।


सबै परीक्षण र्‍यापिड किटमार्फत गरिने देवकोटाले बताए । बागलुङमा दुई जनामा संक्रमण पुष्टि भएसँगै पर्वतका सम्भावित सबैलाई परीक्षण गर्न थालिएको हो । पीपीई सीमित मात्र रहेकाले प्रत्येक पालिकाको केन्द्रमा त्यस्ता व्यक्ति भेला गराएर सुरक्षित तरिकाले स्वाब निकाली प्रयोगशाला पठाउन लागिएको देवकोटाले बताए ।


विदेशबाट फर्केकाहरू परिवारसँग घुलमिल भएकाले जोखिम बढेको निष्कर्षसहित सबैमा परीक्षण गर्न लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र पर्वत अस्पतालको संयुक्त टोलीले स्वाब संकलन गरिरहेको छ । पहिलो चरणमा तेस्रो देशबाट र दोस्रो चरणमा भारतबाट फर्किएकाहरूको परीक्षण गरिने अस्पतालले जनायो ।


यसैबीच जिल्लामा सय थान र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमार्फत परीक्षण थालिएको अस्पतालले जनाएको छ । प्रदेश सरकारमार्फत प्राप्त सय थान किट प्रयोग गरेर शुक्रबारदेखि परीक्षण थालिएको अस्पताल प्रमुख देवकोटाले बताए ।


स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा चैतयता ३ सय १६ जना विदेशबाट फर्किएका छन् । भारतबाट मात्रै २ सय १३ जना आएका छन् । यसरी आएका कतिपयको तथ्यांक पत्ता लगाउन कठिन भएको छ । पैयुँमा भारतबाट फर्किएका केही व्यक्तिसँग सम्पर्क हुन नसकेको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताए ।

प्रकाशित : चैत्र २९, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?